हवाई क्षेत्र सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन होटेल सङ्घ पोखराको आग्रह

सोमबार, माघ २, २०७९

पोखरा– होटेल सङ्घ पोखराले नेपालको हवाई क्षेत्र सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन आग्रह गरेको छ । 

 

यति एयरलायन्सको जहाज दुर्घटना भएकोमा सङ्घका तर्फबाट अध्यक्ष लक्ष्मण सुवेदीले आज विज्ञप्ति जारी गर्दै नेपाली हवाई क्षेत्रलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन नेपाल सरकार, नागरिक उड्डयन प्राधिकरण र विमान कम्पनीलाई गम्भीर बन्न आग्रह गरेका छन् ।

 

विपद्का समयमा खोजी, उद्धार र राहतका कार्यक्रमलाई चुस्त र दुरुस्त राख्न चाल्नुपर्ने कदम तत्काल चाल्न सङ्घले सरकारसँग अनुरोध गरेको छ ।

 

आन्तरिक उडानतर्फ नेपालकै ठूलो यस दुर्घटनाले मर्माहत बनाएको भन्दै विज्ञप्तिमा दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली एवं शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ । 

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  १८:३१
प्रतिक्रिया दिनुहोस्