नेभिगेशन
पूर्वाधार

पर्यटक भित्र्याउन भेडेटारमा फुड फेस्टिबल

काठमाडौँ– कोरोनापछि सुस्ताएको होटल व्यवसायलाई उकास्ने उद्धेश्यका साथ आज (शनिवार) बाट धनकुटाको भेडेटारमा तीन दिने फुड फेस्टिबल शुरु भएको छ  ।


अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी आयोजना गरिएको फुड फेस्टिबलमा ३० हजार आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने लक्ष्य लिइएको आयोजकले जनाएको हो । सांगुरीगढी गाउँपालिकाको सहयोगमा होटल एशोसिएशन अफ भेडेटारले आयोजना गरेको फेस्टिबलमा १ करोड बढीको कारोवार हुने अपेक्षा गरिएको छ । औपचारिक कार्यक्रमकाबीच आज उद्घाटन गरिएको फुड फेस्टिबललाई कोरोनाले थलिएको व्यापार व्यवसायको विकास र प्रवद्र्धनका रुपमा समेत लिइएको छ । होटल एशोसिएशन अफ भेडेटारकी अध्यक्ष शान्तिमादेन श्रेष्ठले आगामी दिनमा सबैको साथ र सहयोग गरेको खण्डमा यही वर्षमा पर्यटन व्यवसाय फस्टाउने बताए

 

पूर्वको पर्यटकीय गनतव्यका रुपमा रहेको भेडेटारमा आयोजित फुड फेस्टिबल विशेष गरी भारतीय पर्यटक लक्षित गरी आयोजना गरिएको छ । फेस्टिबलले भेडेटारलाई आन्तरिक तथा बाह्य पर्यटक माझ घुम्नैपर्ने गनतव्यका रुपमा चित्रित गर्न थप मद्यत पु¥याउने विश्वास लिइएको छ । फेस्टिबलमा सांस्कृतिक कार्यक्रमसँगै स्थानीय तथा जाति विशेष खानेकुराका परिकार प्रदर्शनीसँगै भेडेटार हेलि टुर, जिपलाइन तथा प्याराग्लाइडिङ सेवा उपलब्ध रहने सांगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । उनले अंग्रेजी नयाँ वर्षमा बाहिरबाट आउने पर्यटकको स्वागतका लागि कार्यक्रम राखिएको बताए ।  


फेस्टिबलमा गाउँपालिका अग्र्यानिक खानेकुरा र स्थानीय कृषि प्रदर्शनी सहितको स्टल राखिएका छन् । फेस्टिबल अवधिभर भेडेटारको रमणीय क्षेत्रको भ्रमण गराइने तथा हेलि टुर, जिपलाइन तथा प्याराग्लाइडिङ सेवा उपलब्ध रहने आयोजकले जनाएको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पूर्वाधार

दोर्दी जोड्ने सडक अन्तिम चरणमा