नेभिगेशन
पूर्वाधार

चिसोमा पनि मनाङमा पर्यटकको घुँइचो

मनाङ– हिमाली जिल्ला मनाङमा चिसो बढी भएको अवस्थामा पनि पर्यटक आइरहेका छन् । प्रतिदिन करिब १० देखि १५ जनाको दरले पर्यटक मनाङ भित्रिने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए ।

 

'चिसो अत्यधिक बढेको छ । पर्यटक प्रतिदिन औसतमा १० जना आउने क्रम जारी छ । सुरक्षित भएर यात्रा गर्न सुझाएर गन्तव्यतर्फ पठाउने गरेका छौँ,' गौतमले भने, 'हिमपात नभए पनि चिसो अत्यधिक छ । खानेपानी जमेको अवस्था छ । तर पर्यटक आउन रोकिएको छैन ।'

 

पर्यटक आउँदा मनाङमा बसोबासका लागि समस्या हुन सक्ने भएकाले सचेत भएर आउनुपर्ने उनले बताए । हिमपात नहुँदासम्म पर्यटकको आगमन जारी रहने उनको भनाइ छ । हिमापत भएपछि भने मनाङ गाउँबाट माथि जान सक्ने अवस्था नहुने उनले बताए । 

 

'प्रायजसो समूहमा आएका विदेशी पर्यटकलाई तिलिचो ताल, थोराङ्ला पास जान अनुमति दिएका छाैँ । हिउँ नपर्दा सुख्खापन बढेको छ । यसले कृषिबालीमा समेत समस्या हुने देखिएको छ', गौतमले भने, 'पुसमा हिमपात हुने अवस्था देखिएको छैन । माघमा मात्रै हिमपात हुन सक्ने मौसम विभागको अनुमान छ ।'

 

केही मान्छेको फोक्सोले चिसोलाई सहज रूपमा लिन सक्छ भने केही व्यक्तिको फोक्सोलाई चिसोले प्रतिकूल बनाउने हुँदा लेक लाग्ने समस्या हुने गौतमको भनाइ छ । कम पर्यटक हुँदा जोखिम कम हुने उनले बताए ।

 

चिसाे कम हुँदा सहज हुने र बसोबासका लागि समस्या नहुने गौतमले बताए । तिचिलो तालतर्फ एउटा होटल हिउँ नपरेकाले सञ्चालनमा रहेको उनले जानकारी दिए । त्यस्तै थोराङ्लापासतर्फ पनि एउटा मात्रै होटल सञ्चालनमा रहेको जानकारी पाएको उनी बताउँछन् । 

 

'हिमपात भएपछि हिमपहिरो आउन सक्ने भएकाले पूर्ण रूपमा यात्रा रोकिन्छ । त्यसै पनि जोखिमपूर्ण यात्रा हो यस पदमार्गमा तर हिमपातमा अझ जोखिम बढी हुन्छ', गौतमले भने ।

 

विकट हिमाली जिल्लाबासीको विचार, यहाँको मौसम अनुकूलता अनुसार काम गर्ने योजना रहेको प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुंगेल खनालले बताइन् । पर्यटकीय क्षेत्र भएकाले अझ सचेतना अपनाउनुपर्ने हुँदा सोही अनुरूप अध्ययन गरी मनाङका लागि सहज वातावरण तयार गर्ने गरी काम गर्ने उनको भनाइ छ । 

 

पर्यटकसँग सम्बन्धित निकायसँगको सहकार्य र समन्वयमा पर्यटकको जोखिम हेरी निर्णय र सहज बनाउने उनको प्रतिबद्धता छ । चिसोका कारण मनाङमा यतिबेला विकास निर्माण बन्द छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पूर्वाधार

दोर्दी जोड्ने सडक अन्तिम चरणमा