सर्बिया र क्यामरुन बराबरीमा

सोमबार, मंसिर १२, २०७९

कतार—फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह जी को खेलमा क्यामरुन र सर्बियाले बराबरी खेलेका छन् ।  दुवै टोलीले  ३–३ को बराबरीमा खेले ।

अल जनौब रंगशालामा पहिलो हाफको मध्यतिर अग्रता क्यामरुनले सुरुवाती अग्रता लिएको थियो । तर इन्ज्युरी समयको दुई मिनेट अन्तरमा दुई गोल गर्दै सर्बिया हाफ टाइममा अग्रता लिन सफल भयो । दोस्रो हाफको सुरुवातमै सर्बियाले अग्रता बढाउँदै जिततर्फ अग्रसर रहेको थियो ।

तर डिफेन्समा गल्ती गर्दा युरोपेली टोलीले अग्रता जोगाउन सकेन । क्यामरुनका लागि वैकल्पिक फरवार्ड भिन्सेन्ट अबुबकारको उच्च प्रदर्शनमा क्यामरुन खेलमा फर्कियो । अफसाइड ट्रयाप बिट गर्दै २ मिनेटको अन्तरमा लगातार २ गोल फर्काउँदै क्यामरुनले खेल बराबरीमा ल्यायो ।

क्यामरुनका लागि खेलको २९ औं मिनेटमा जान चार्ल्स कास्टेलेटोले सुरुवाती गोल गरे । उनले कर्नरमा आएको बल निअर पोस्टमा फ्लिक भएपछि फार पोस्टमा सहजै गोल गरे । सर्बियाका सबै डिफेन्डर एकैतर्फ व्यस्त हुँदा अन्मार्क रहेका कास्टेलेटोले सहजै गोल गरेका थिए ।


इन्ज्युरी समयको पहिलो मिनेटमा सर्बियाले बराबरी गोल फर्कायो । कप्तान डुसान टाडिचको फ्रिकिकमा स्ट्राहिना पाभ्लोभिचले गोल गरे । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको हेडर गोलरक्षक डेविस एपासीले बचाउने कुनै अवसर पाएनन् ।

बराबरी गोल फर्काएको दुई मिनेटमै सर्बियाले अग्रता लियो । यसपटक सर्गे मिलिन्कोभिच साभिचले गोल गर्दै युरोपेली टोलीलाई अघि बढाए । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक एपासीको हातमा लाग्दै गोल भएको थियो ।

दोस्रो हाफको ५३ औं मिनेटमा सर्बियाले अग्रता दोब्बर पार्यो । जिभ्कोभिचकै पासमा एलेक्जेन्डर मित्रोभिचले गोल गर्दै जिततर्फ उन्मुख गराए । पेनाल्टी क्षेत्र भित्रबाट गोलरक्षक पोजिसनमा नरहेको अवस्थामा मित्रोभिचले खाली पोस्टमा गोल गरेका थिए ।

तर ५५ औं मिनेटमा क्यामरुनले मार्टिन होंगलाको स्थानमा भिन्सेन्ट अबुबकारलाई मैदान प्रवेश गराएपछि खेलको रुप बदलियो । अबुबकारले ६० औं मिनेटमा गरेको प्रहार गोलरक्षक भान्जा मिलिन्कोभिच साभिचले विफल पारे ।


त्यसको तीन मिनेटपछि नै अबुबकारले अफसाइड ट्रयाप बिट गर्दै उत्कृष्ट गोल गरे । डिफेन्डरलाई छक्याएपछि गोलरक्षक भान्जालाई चिप गर्दै उनले सुन्दर गोल गरे । असिस्टेन्ट रेफ्रीले उक्त गोल अफसाइड दिएपनि भिडियो असिस्टेन्ट रेफ्रीले मान्यता दिएको थियो ।

अग्रता घटाएको २ मिनेटपछि नै क्यामरुनले बराबरी गोल फर्कायो । पुनस् एकपटक अबुबकार नै गोलमा निर्णायक सावित भए । उनले अफसाइड ट्रयाप बिट गर्दै अघि बढाएको बल पेनाल्टी क्षेत्रभित्र पुगेपछि एरिक म्याक्सिम चुपो मोटीङलाई दिए । डिफेन्डर र गोलरक्षक बिट गर्दै अबुबकारले दिएको पासमा चुपो मोटीङले गोल गर्दै खेल बराबरीमा ल्याए ।

यस समूहमा ब्राजिल र स्विटजरल्यान्डको ३(३ अंक छ । सर्बिया र क्यामरुनले बराबरीका साथ १(१ अंक बाँड्दै खाता खोलेका छन् । आजै रातको ९स्४५ बजे हुने खेलमा ब्राजिलले स्विटजरल्यान्डको सामना गर्दैछ ।

 

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १२:०७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार