भोजपुरका सबै मतदानस्थलमा पुगे कर्मचारीसहितको टोली

बुधबार, मंसिर ७, २०७९

भोजपुर - आसन्न मङ्सिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरका सबै मतदानस्थलमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरमार्फत निर्वाचनका लागि आवश्यक पर्ने मतपेटिकालगायतका सामग्रीसहित कर्मचारी सम्बन्धित मतदानस्थलमा पठाइएको भोजपुरका मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेले जानकारी दिए। २ नगरपालिका र सात गाउँपालिका रहेको जिल्लाका ८७ वटा मतदानस्थलका एक सय ५७ वटै मतदान केन्द्रमा आवश्यक सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीको टोली पुगिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको हो।

भोजपुरमा निर्वाचनका लागि सरकारी कर्मचारी र शिक्षक गरी एक हजार २ सय ४६ कर्मचारी खटाइएको छ भने म्यादी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी २ हजार ३ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। 

निर्वाचन सुरक्षाका लागि सबै तयारीसहित सुरक्षाकर्मी परिचालन गरिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए। ‘हामीले म्यादी प्रहरीसहित तीनवटै निकायबाट सुरक्षाकर्मी परिचालन गरिसकेका छौँ, निष्पक्ष र शान्तिपूर्ण मतदानका लागि कर्मचारीसहित सबै व्यवस्थापन गरिएको छ’, उनले भने।

निर्वाचनमा खटिएका कर्मचारीले मतपत्र, मतपेटिका, मतदाता नामावली, छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छापलगायतका ६२ प्रकारका निर्वाचन सामग्री मतदानस्थल पु¥याएका छन्। मतदाताका आधारमा मतदान केन्द्रमा चारवटाका दरले मतपेटिका पठाइएको जिल्ला निर्वाचन अधिकारी तोपलाल भुसालले जानकारी दिए। मतदानस्थल पुगेका कर्मचारीले मदिरा, हातहतियार, चुनावी प्रचार–प्रसार र शान्ति भङ्ग गर्न निषेधसम्बन्धी सूचना टाँस गरेर मतदान केन्द्र तथा मतदानस्थल निर्माण गर्नेछन्। 

प्रतिनिधिसभाका लागि एक र प्रदेशसभातर्फ २ निर्वाचन क्षेत्र रहेको भोजपुरमा ५९ हजार २ सय ५३ महिला र ६४ हजार एक सय २५ पुरुष गरी कुल एक लाख २३ हजार ३ सय ७९ मतदाता रहेका छन्। प्रतिनिधिसभातर्फ १२, प्रदेशसभा (१) मा सात र प्रदेशसभा (२) मा छ गरी २५ जना दलका र स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।  

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १०:५७
प्रतिक्रिया दिनुहोस्