पहिला प्रतिस्पर्धी अहिले झलनाथ खनालका सारथी

बुधबार, मंसिर ७, २०७९
इलाम–नेपाली कांग्रेस इलामका पुराना नेता भूपेन्द्र कट्टेल यतिबेला नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालको पक्षमा भोट मागिरहेका छन् । खनाल जताजता चुनावी सभामा पुग्छन्, कट्टेल पनि उतै उतै पुगेर खनाललाई नै भोट दिन मतदाता आग्रह गरिरहेका छन् । इलाम–१ को अन्तुमा आयोजना गरिएको चुनावी सभामा कट्टेलले भने, ‘२०७४ सालमा हामी प्रतिस्पर्धी थियौं अहिले उहाँको सारथि म छु ।’ खनालतिर सङ्केत गर्दै कट्टेलले पार्टीको निर्देशन अनुसार सत्ता गठबन्धनका उम्मेदवार जिताउन आफू हिँडेको बताए । २०७४ सालको निर्वाचनमा इलाम–१ मा नेकपा (एमाले)को तर्फबाट खनाल र काग्रेसको तर्फबाट कट्टेल चुनावी मैदानमा थिए । त्यस बेला खनाल भारी मतले विजयी भएका थिए । खनालले ३६ हजार ८०५ मत ल्याउँदा उनका प्रतिस्पर्धी कट्टेलले १९ हजार ६३८ मत मात्र प्राप्त गरे । यसपटक कांग्रेससहितको सत्ता–गठबन्धनबाट साझा उम्मेदवार खनालको मुख्य प्रतिस्पर्धी २ कार्यकाल इलाम नगरपालिकाको प्रमुख बनेका एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतसँग भइरहेको छ । लामो समय कांग्रेसको राजनीतिमा सक्रिय विक्रम पाण्डेले स्वतन्त्र उम्मेदवारी पनि सोही क्षेत्रबाट दिएका छन् । कट्टेल करिब ४ दशकदेखि कांग्रेसको सक्रिय राजनीतिमा छन् । उनी हाल काग्रेसको केन्द्रीय चुनाव प्रचारप्रसार समितिको सदस्यको रूपमा काम गरिरहेका छन् । पूर्व प्रधानमन्त्री खनाललाई पनि विगतका प्रतिस्पर्धी कट्टेल पनि हरेक कार्यक्रमसँगै भएपछि निर्वाचन जित्न सजिलो भएको बताउँछन् । खनालले विगतका आफ्ना प्रतिस्पर्धी नै अहिलेका भोट माग्ने नजिकका सारथि कट्टेल भएको पनि बताउँछन् । खनाललाई इलाम–१ मा गठबन्धनमा रहेका दल कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले साथ दिएका छन् । खनाल सातौँपटक इलाम–१ बाट प्रतिनिधिसभा सदस्यको लािग चुनावी प्रतिस्पर्धामा छन् । २०५६ को निर्वाचनमा कांग्रेसका बेनुपराज प्रसाईंसँग पराजित भएबाहेक २०४८ यताका संसदीय निर्वाचनमा खनालले हार व्यहोर्नुपरेको छैन । इलाम–१ को प्रदेशसभा (क) मा गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी )की नेत्री एवं प्रदेश १ की पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बूको उम्मेदवारी रहेको छ भने एमालेले सन्दकपुर गाउँपालिकाकी पूर्वउपाध्यक्ष शोभा पराजुलीलाई उम्मेदवार बनाएको छ । यसैगरी प्रदेशसभा (क) मा गठबन्धनबाट कांग्रेसका नेता एवं रोङ गाउँपालिकाका पूर्वाध्यक्ष शमशेर राईका विरुद्ध एमालेले माई नगरपालिकाका पूर्वप्रमुख दीपककुमार थेबेलाई अघि सारेको छ । यस निर्वाचन क्षेत्रअन्तर्गत सूर्योदय नगरपालिका, माईजोगमाई गाउँपालिका, सन्दकपुर गाउँपालिका, रोङ गाउँपालिका, इलाम नगरपालिका वडा नं १० र माई नगरपालिकाको ७, ८, ९ बाहेक सबै वडा पर्दछन् । गत स्थानीय तह निर्वाचनमा नेकपा (एस)ले सूर्योदय नगरपालिकाको प्रमुख र सन्दकपुर गाउँपालिकाको उपाध्यक्षसहित सात वडामा विजयी भएको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १३:२६
प्रतिक्रिया दिनुहोस्