किसान, मजदुर र कामदार वर्गको हितमा कानुन बनाउन सङ्घर्ष गर्नेछु: प्रकाश गुरुङ

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ – प्रतिनिधिसभाको लागि दैलेख क्षेत्र नं. १ मा नेपाल मजदुर किसान पार्टीको तर्फबाट प्रकाश गुरुङ उम्मेदवार उठेका छन् । रामपुर क्याम्पस भरतपुरबाट कृषि विषय अध्ययन गरेका उनी सम्भवतः कर्णालीकै कान्छा उम्मेदवार पनि हुन् ।  भक्तपुरलाई उदाहरणीय बनाएको नेमकिपाको संसदमा उपस्थिति न्यून देखिन्छ । भक्तपुरको एक क्षेत्र बाहेक अहिले पनि नेमकिपाको उपस्थिति संसदमा थिएन । प्रकाश गुरुङ विद्यार्थी जीवन पनि नेमकिपाकै भातृ सङ्गठनमा रहेर राजनीति गरे । अहिले नेक्राविसंघको केन्द्रीय अध्यक्ष पनि हुन् ।  दैलेखमा नेमकिपाबाट जितेका र नेमकिपाको राम्रो छवि बनाएकाहरुले पार्टी परिवर्तन गरेको अवस्था छ । क्षेत्र नं. १ एमालेका रवीन्द्रराज शर्मा र गठबन्धनबाट नेकपा एसका अम्बर बहादुर थापा चुनावी मैदानमा छन् ।  प्रतिनिधिसभाको निर्वाचनमा नेमकिपाको रणनीति, उम्मेदवार गुरुङका एजेन्डा र दैलेखका समस्याका बारेमा गरिएको कुराकानीको सम्पादित अंशः  दैलेख क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको उम्मेदवार हुनुहुन्छ ? जनतामाझ कसरी जानु हुन्छ ? जनताको घर-आगन, खेत–खलियानमा पुगेर जनताको समस्या बुझ्ने र समाधानका उपायबारे छलफल गर्ने । पार्टीको घोषणापत्र, प्रतिबद्धता, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे जानकारी दिने । दैलेखका र विशेष गरी क्षेत्र नं. १ का समस्याहरू के छन् ? शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, विद्युत्, सडक तथा यातायातको क्षेत्रमा ठुला समस्याहरू छन् । कृषिमा सिँचाइ, मल, बिउ र बजारीकरणमा समस्या देखिन्छ ।  प्रतिनिधिसभा सदस्य त विशेष गरी कानुन निर्माणको प्रक्रियामा भूमिका खेल्ने प्रतिनिधि हुन् । यहाँको यसमा कस्तो खालको भूमिका रहन्छ ? अहिले कति पूर्व सांसद, मन्त्रीहरूले कानुन निर्माणको साटो विकास निर्माणका कुरा मात्र प्रचार गरेर जनतामा भ्रम छर्नु गलत छ । किसान, मजदुर र कामदार वर्गको हितमा कानुन बनाउन सङ्घर्ष गर्नेछु । समाजवाद उन्मुख संविधान अनुसार माध्यमिक शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गराउन, स्वास्थ्य सेवा निःशुल्क र सुलभ गराउन, ज्येष्ठ नागरिक, अशक्त, टुहुरा–टुहुरीको आवश्यक व्यवस्था मिलाउन, महिलाहरूको श्रम शक्ति वृद्धि गर्न स्थानीय तहको वडा र टोलमा शिशु स्याहार केन्द्र र बालोद्यान सञ्चालन गराउन लगायत जनताका पक्षमा कानुन बनाउन भूमिका रहनेछ । दैलेखमा नेमकिपाले विश्वास गरेकाहरू, चुनाव जितेकाहरू धेरै अन्य पार्टीमा प्रवेश गरेका छन् । यहाँलाई पनि दैलेखी जनताले जिताए भने त्यस्तै नियति भोग्नु पर्ने त होइन ? व्यक्तिगत स्वार्थ राख्नेहरूले पार्टी छोडे, जनतालाई धोका दिए । बढार्नु पर्ने फोहोर हावाले उडाए जस्तै हो । जनता सचेत भए सबैले जनताबाट कारबाही भोग्नुपर्नेछ । राजनीति भनेको निःस्वार्थ रूपमा देश र जनताको सेवा गर्नु हो ।  राजनीतिलाई पेसा र व्यवसाय बनाउने हाम्रामा टिक्दैनन् । जनताले धोका नपाउनेमा ढुक्क हुनुहोस् ।  प्रतिनिधिसभामा जहिले पनि नेमकिपाको भूमिका प्रतिपक्षको मात्र हुन्छ । सरकारमा जाने नीति किन नलिनु भएको ? जनताले जस्तो भूमिका दिन्छ, त्यहीँ अनुसार नेमकिपाले काम गर्छ । नेमकिपालाई जनताले प्रखर प्रतिपक्षको भूमिका दिँदै आएको छ । पुँजीवादी सरकारमा गएर आमूल परिवर्तन नहुने हुँदा हालको सरकारमा सहभागी हुँदैन । मुहान सफा गर्नुपर्छ, धारा मात्र सफा गरेर हुँदैन । किन भक्तपुर बाहेकका जिल्लाहरूमा यहाँहरूको प्रतिनिधिले जित्दैनन् ?  चुनावमा नोटले भोट शासक दलले नकिन्ने हो भने हामी धेरै ठाउँमा जित्छौँ । चुनावलाई विचार र घोषणापत्रबिचको सङ्घर्ष बनाउनु आवश्यक छ । जितेपछि घोषणापत्र अनुसार काम नगर्ने दल खारेज गर्नुपर्छ । अपराधीहरूको उम्मेदवारी खारेज गर्नुपर्छ । यहाँका जित्ने आधारहरू के के हुन् ?  सरकारमा गएका दल र नेताहरूबाट जनता आजित छन् । तिनीहरूको गतिविधिबाट कामदार जनता पीडित छन् । जनताले विकल्प खोजेका छन् । स्वीकार गरे पनि नगरे पनि अबको विकल्प नेमकिपा हो । युवाहरू मेरो उम्मेदवारीले उत्साहित छन् । देश घाती एमसीसी सम्झौता र नागरिकता विधेयक पारित गर्ने जन घाती पार्टी र नेताहरूको विरोधमा जनता छन् । नेमकिपालाई जनताले किन जिताउने ?  भ्रष्टाचारीको विकल्प भ्रष्टाचारी हुन सक्दैन । देश घातीको विकल्प देश घाती हुन सक्दैन । विदेशी दलालको विकल्प अर्को विदेशी दलाल हुन सक्दैन । देशलाई बचाउन, कामदार जनताको पक्षमा कानुन बनाउन, आत्मनिर्भर अर्थतन्त्र विकास तथा समानुपातिक विकासका लागि नेमकिपाको जित आवश्यक छ ।  मतदातालाई यहाँको सन्देश के छ ? योग्य उम्मेदवार छान्नुहोला । कसैको दबाब र करबलमा परेर भोट नहाल्नुहोला । व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर देश र जनताको स्वार्थ रोज्नुहोला । बोली होइन व्यवहार हेर्नुहोला । घोषणापत्र अनुसार काम नगर्ने दल र नेता चिनेर दण्ड दिनुहोला । देश र जनताको पक्षमा निरन्तर सङ्घर्ष गरिरहेको नेमकिपाको मादल छापमा मतदान गरी हाम्रा उम्मेदवारहरूलाई विजयी गराउनुहुन सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछु ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:२६
प्रतिक्रिया दिनुहोस्