नेभिगेशन
जीवनयापन

ताप्लेजुङबाट भट्टराईसहित पाँच जनाको नाम सिफारिस

ताप्लेजुङ– नेकपा (एमाले) ताप्लेजुङले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि केन्द्रीय सविच योगेशकुमार भट्टराईसहितको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सचिव भट्टराईसहित पाँच जनाको नाम सिफारिस गरेको हो । एमाले ताप्लेजुङका उपसचिव एवम् प्रचार विभाग प्रमुख दीपेन पोमुका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिफारिस हुने अन्य चार जनामा पोलिटब्यूरो सदस्य तिलकुमार मेन्याङ्बो, केन्द्रीय सदस्यद्वय पासाङ शेर्पा र टङ्क आङ्बुहाङ तथा प्रदेश कमिटी सदस्य रामप्रसाद सुबेदी रहेका छन्। प्रतिनिधिसिभाका लागि सिफारिस हुनेमा भट्टराई ताप्लेजुङका वर्तमान प्रतिनिधिसभा सदस्य हुनुहुन्छ भने मेन्याङ्बो पूर्वसांसद, शेर्पा पहिलो संविधानसभाका सदस्य र आङ्बुहाङ २०७४ मा ताप्लेजुङ निर्वाचन क्षेत्र १ (ख) मा माओवादीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। उनी माओवादी छोडेर एमालेमा लागेपछि प्रदेश सांसद पद खोसिएको थियो । यस्तै सुवेदी पूर्व जिल्ला उपसभापति छन् । प्रतिनिधिसभाको समानुपातिकतर्फ केन्द्रीय सदस्य उर्मिला थेबे, पूर्वराज्यमन्त्री ओङ्दी शेर्पा, लक्ष्मीबहादुर यक्सो, शिवकुमार गुरुङ र मीरा नेपालीको नाम सिफारिस गरिएको जिल्ला उपसचिव पोमुले जानकारी दिए । त्यस्तै, प्रदेशसभा १ (क) को प्रत्यक्षतर्फ वर्तमान प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङसहित ११ जनाको नाम सिफारिस गरिएको छ । अन्य सिफरिस हुनेमा जिल्ला उपाध्यक्ष सन्तोष खतिवडा, महेशकुमार गुरागाई, देउमान बिष्ट, कुमार मादेन, भरतकुमार गुरुङ, हेमन्तकुमार उप्रेती, सुनिता थापा, नर्वदादेवी भण्डारी, गोपाल न्यौपाने र अनन्तबहादुर साँबा रहेका छन् । प्रदेशसभा १ (ख) मा प्रत्यक्षतर्फ पाँच जना सिफारिस भएकोमा प्रदेशसभा सदस्य होमकुमारी साँबा, जिल्ला उपसचिव मणिशङ्कर पोमू, गोपाल थोप्रा, त्रिबेणी चोङ्बाङ र चित्रगुुप्त साँबा रहेका छन् । प्रदेशसभाको समानुपातिकमा भने १८ जनाको नाम सिफारिस गरिएको एमाले ताप्लेजुङले जनाएको छ । जसअनुसार प्रदेशसभा (क) र (ख) दुवैबाट निर्मला इजम, टीकादेवी सुबेदी, टीकादेवी दाहाल, बुद्धिमान परियार, छत्रबहादुर विक र हरिलाल ठकुरी सुनाम रहनुभएको छ । त्यस्तै, कोपिला नेपाली, सञ्चपाल मादेन, सूर्यबहादुुर आङ्बुहाङ, मङ्गलसिंह केदेम र हिमालयबिक्रम चाम्लिङ, गणेश कार्की ढोली, राजेश प्याकुरेल, धर्मराज घिमिरे, बीरबहादुुर माबोहाङ, राधाकृष्ण पौडेल, इन्द्र शेर्पा र रामकुमार विश्वकर्माको नाम सिफारिस भएको छ । आकाङ्क्षी धेरै भएपछि सङ्ख्या घटाउने अधिकतम् कोसिस गरे पनि सम्भव नभएपछि बुधबार साँझ सबैको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष भूपेन्द्र थेबेले जानकारी दिए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै