नेभिगेशन
जीवनयापन

नगरपालिकाले खरिद गरेको सेनेटरी प्याडमै लाखौंको अनियमितता 

कालीकोट- कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाले सेनेटरी प्याड खरिदमा लाखौ अनियमितता गरेको पाइएको छ । आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाका भित्रका विद्यालयहरूलाई वितरण गर्नका लागि खाँडाचक्र नगरपालिकाको स्वास्थ्य शाखाले खरिद गरेको सेनेटरी प्याडमा लाखौं रकम अनियमितता गरेको पाइएको हो । होलसेल खरिदमा सेनेटरी प्याडको बजार मूल्य ३० देखि ३५ भएपनि नगरपालिकाले खरिद गरेको प्याडको ४५ रुपैयाँ ९५ पैसा मूल्य परेको छ । नगरपालिकाको स्वास्थ्य शाखाले नेपालगन्जमा रहेको कलमा सर्जिकल र सुर्खेतको निमित्त सर्जिकल सेनेटरी प्याड खरिद गरेको हो । खाँडाचक्र नगरपालिकाको स्वास्थ्य शाखाले प्याड खरिदमै घोटाला गरेको छ । नगरपालिकाले १० लाखको लागतमा १५ हजार प्याड खरिद गरेको स्वास्थ्य शाखा संयोजक रविन्द्र सेजुवालले बताए । उनले दिएको जानकारी अनुसार, १५ हजार प्याडको खरिद मूल्य हेर्ने हो भने ६ लाख ८९ हजार २ सय ५० हुन्छ । तर नगरपालिकाबाट १० लाख भुक्तानी भएको छ । नगरपालिकाले जुन प्याड खरिद गरेको छ त्यसको बजार मूल्य ३५ राख्ने हो भने, ५ लाख २५ हजार हुन आउँछ नगरपालिकाले १० लाखमा खरिद गरेको प्याडमा ३ लाख १० हजार ७ सय ५० रुपैयाँ अनियमितता भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले २०७८ माघ २ गते खरिद गरेको प्याड आधारभुत र माध्यमिक विद्यालयमा वितरण गरिएको थियो । वितरण गरिएको प्याड पनि महिनावारी उमेर समुहका छात्राले पाउन सकेका छैनन् । अहिले विद्यालयले प्याड विद्यालयको गोदाममा थन्काएर राखेका छन् । केही प्याड त मुसाको बासस्थान समेत भएको छ । नगरपालिकाले राखेका विद्यालय नर्सहरू नियमित विद्यालयमा नजाँदा छात्राले प्याड पाउन नसकेका हुन् । कोटेसन माग गरेर प्याड खरिद गरिएको सेजुवाल बताउँछन् । उनले आफूहरूले १५ हजार प्याड १० लाखमा खरिद गरी विद्यालयहरूमा वितरण गरेको दावी समेत गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै