नेभिगेशन
जीवनयापन

काठमाडौँ उपत्यकामा रात्रिकालीन सम्पदा यात्रा सञ्चालन हुने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँ उपत्यकामा रात्रिकालीन सम्पदा यात्रा सञ्चालन गरिने बताएका छन्। काठमाडौँ, भक्तपुर, पाटन र कीर्तिपुरका सम्पदा क्षेत्रमा रात्रिकालीन पदयात्रा सुरु गर्नेबारे मन्त्री श्रेष्ठले बुधवार सरोकारवालाहरूसँग छलफल गरे । त्यस अवसरमा मन्त्री श्रेष्ठले रात्रिकालीन सम्पदा यात्राले पर्यटकहरूको आगमनमा वृद्धि हुने र उपत्यकामा पर्यटकको बसाइ अवधि लम्बिने विश्वास व्यक्त गरे । रात्रिकालीन सम्पदा यात्राबाट यहाँका कला, संस्कृति र सम्पदालाई बाह्य तथा आन्तरिक पर्यटकीय गन्तव्यका रुपमा अगाडि बढाउन तथा सम्पदाको जगेर्ना गर्न मद्दत पुग्ने उनले बताए। पर्यटन व्यवसायी र स्थानीय बासिन्दाबीच सहकार्य, सम्पदा उज्यालो देखिने गरी बत्तीको व्यवस्था, सुरक्षा व्यवस्थाका साथै साँझसम्म स्थानीय व्यवसाय सञ्चालनको तयारी पुरा गरी रात्रिकालीन सम्पदा यात्रा सञ्चालन गरिनेछ । ऐतिहासिक सम्पदा, मन्दिर, पार्क तथा ढुङ्गे धाराको रात्रिकालीन अवलोकन निकै आकर्षक एवं मनमोहक हुने पर्यटन व्यवसायीहरूको भनाइ छ । छलफलमा उपत्यकाका स्थानीय तहका प्रतिनिधिका साथै होटल व्यवसायी, पर्यटन व्यवसायी, प्रहरी र स्थानीय सङ्घसंस्थाका प्रतिनिधि सहभागी थिए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै