नेभिगेशन
जीवनयापन

ठूलो परिमाणमा म्याद गुज्रिएका खाद्यान्न जफत गरी नष्ट

भक्तपुर– भक्तपुर नगरपालिका–१ चुनदेवीस्थित ‘चुनदेवी खाद्य स्टोर’मा आज छापा मारी रु १४ लाख बराबरको विभिन्न ब्रान्डका चामल, दाल र तेल जफत गरी नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वको जिल्ला बजार अनुगमन टोलीले स्टोरमा छापा मारी म्याद गुज्रेका, घुन तथा कीरा परेको, कुहिएको चामल, दाल र तेल जफत गरी नष्ट गरेको हो । व्यापारी महेश ठकुल्लावटले सञ्चालन गरेको स्टोरको चार तले घर र एउटा टहरामा गोदाम गरी राखेको खाद्यान्नमध्ये कुहिएका चामल गोदामबाटै रिफाइन गरी पुन: प्याकेजिङ गरी बजारमा बिक्रीका लागि पठाउने गरिएको पाइएको हो । व्यापारीले गोदाम घरमै मेसिन राखी बोरामा कुहिएका, घुन र कीरा परेका चामललाई मेसिनमा राखेर कीरा, घुन छुट्टाई, चामललाई पुन: सेतो बनाएर विभिन्न नामका बोरामा प्याकिङ गरी त्यहीँ सिलाएर पुन: बिक्री गर्ने गरेको पाइएको सहायक प्रजिअ शर्माले जानकारी दिए। टोलीले गोदाम घरबाट छ घण्टा लगाएर ११९ क्विन्टल चामल, नौ क्विन्टल ७५ किलो दाल र ६३६ लिटर तेल जफत गरी भक्तपुर नगरपालिकाद्वारा जगातीमा सञ्चालित प्राङ्गारिक मल उत्पादन केन्द्रमा लगेर नष्ट गरेको सहायक प्रजिअ शर्माले बताए । उनले म्याद गुज्रेको सामान पुन: बिक्रीका लागि लगेको, खाद्य सामान फेरबदल गरेको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाएको र नियमानुसार आजै रु तीन लाख जरिवाना गरिएको जानकारी दिए । अनुगमनमा जिल्ला घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख उमेशकुमार दाहालले अहिलेसम्मकै ठूलो परिमाणमा खाद्य सामग्री नष्ट गर्नुपरेको उल्लेख गरे । उनले यसैलाई आधार मानेर अरू व्यापारीलाई पनि यस्ता गल्ती नगर्न सचेत गराए । अनुगमनमा उद्योग वाणिज्य सङ्घ भक्तपुरका सचिव एवं सङ्घका अनुगमन समिति संयोजक विश्वराम दुवालले चामलमा घुन मात्रै नभई कीरा पनि भेटिएको, भुँइभरि चामल छरिएको, मुसाको लिँड चामलमा रहेको, कुहिएको चामल बिक्री गरेको पाइएको बताए। राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापाले यो घटना व्यापारीको प्रतिनिधि घटना मात्रै भएको भन्दै बजारका धेरै व्यापारीले यस्तो धन्दा चलाएको सूचना आएकाले बजार अनुगमनलाई कडाइ गरेर कारबाहीलाई फराकिलो पार्नुपर्ने बताए । व्यापारी ठकुल्लावटले भने घुन लागेको चामललाई सफा गरेर नयाँ बोरामा प्याकिङ गरी बजारमा पठाउने गरेको स्विकार्दै रिप्याकिङ गर्ने अनुमति लिनुपर्छ भन्ने थाहा पाए पनि थोरै परिमाणमा बिग्रने भएकाले अनुमति नलिएको जिकिर गरे। भक्तपुर नगरपालिकाको अनुगमन समितिका संयोजक राजकृष्ण गोराले उक्त स्टोरलाई भक्तपुर नगरपालिकाले दुई पटक जरिवाना लगाए पनि अटेर गरेको बताए। जिल्ला प्रशासन कार्यालयले यसअघिको अनुगमनमा रु २५ हजार जरिवाना लगाएर सचेत गर्दा पनि अटेर गरेको पाइएको छ । रासस
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै