नेभिगेशन
जीवनयापन

नवदुर्गा गुठीयारले राष्ट्रपतिलाई चढाए सुपारी दाम

ललितपुर — ठेचोको नवदुर्गा भवानी देवी नाचका देवगणद्वारा राष्ट्रपति विद्यादेवी भण्डारीलाई हाँससहित सुपारी दाम चढाइएको छ । प्रत्येक १२ वर्षमा मनाइने जात्राको क्रममा जुग:चह्रे तिथिमा मन्दिरमा पूजा गरेपछि राष्ट्रप्रमुखलाई फूलप्रसाद चढाउने चलन छ । यस वर्ष जुग:चह्रे बिहीबार परेको थियो । राष्ट्रपति भण्डारीले नाचलगायत जात्रा पर्व संरक्षण प्रवर्द्धन गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्ति गरेकी छन् । ‘जात्रा पर्व सञ्चालन गर्न आइपरेका समस्या समाधान गर्न संस्कृति मन्त्रालय र गुठी संस्थानलाई भन्नेछु,’ उनले भनिन् । साउन १० गते घण्टाकर्ण चतुदर्शीको दिन नवदुर्गा मन्दिरमा विधिवत रुपमा पूजाआजा गरी ताल्चा लगाएपछि १२ वर्षे जात्रा सुरु भएको थियो । जात्रा एक वर्षसम्म चल्नेछ । जात्राको क्रममा विभिन्न २८ वटा पर्व पूजा सञ्चालन गर्नुपर्छ । तीमध्ये साविक दलचोकी गाविसमा पुगेर आँग सिं भनी दाउरा लिन जाने भाद्र १४ गते परेको छ । पाटन दरबार क्षेत्रको मूलचोक, सुनाकोठी, ठेचो, चापागाउँ र बुङमतीमा नृत्य प्रस्तुत गरिन्छ । सुनाकोठीमा गरिने कुल्पी यज्ञ, दे भ्वए ९देश भोज० भनी ठेचो र सुनाकोठीवासीलाई देवगणद्वारा प्रसादग्रहण गराउने, श्वेत भैरवको नृत्यलगायत मुख्य आर्कषणको रुपमा रहँदै आएको छ । नवदुर्गा नाचमा १३ देवगण छन् । भैरव, काली, बाराही, कुमारी, गणेश, ब्रम्हायणी, महादेव, महालक्ष्मी, विष्णुदेवी, सिघिनी, बाघिनी, इन्द्रायणी र श्वेत भैरव । नवदुर्गा गुठीमा ३४ जना गुठीयार छन् । परम्परा अनुसार गणेश हुने देवगणले तन्त्रसाधना गरिएको तिलक लगाइदिएपछि सबै देवगणमा देवता चढेको मानिन्छ । देवगणहरुको तान्त्रिक र यान्त्रिक तवरबाट छुट्टाछुट्टै नृत्य गर्ने गरिन्छ । इन्द्रायणी देवीको भने नृत्य गराइँदैन । श्वेत भैरव १२ वर्षमा एक पटक मात्र नृत्य गराइन्छ । नवदुर्गा भवानी देवी पुजारी गोपाल मालीले जात्रापर्व समिति समुदाय र व्यक्ति विषेशको मात्र नभई नेपालकै गैरवको रुपमा रहेकोले सबैले अपनत्व लिनुपर्ने बताए । ‘संस्कृति जगेर्ना गर्न गुठीयार मात्र नभई युवापुस्ता, सरोकारवाला निकाय सबै जागरुक हुनुपर्छ,’ उनले भने । नाचबारे भाषा वंशावलीमा ‘यिनी राजाका पालामा मनमानेश्वरी देवीको प्रसादले मागल देशमा खड्गी टोल बनाई मू:स्वाँ नामक पुष्पका निमित्त माली जात प्रख्यात गरेको’ उल्लेख छ । राजा मानदेवको पालामा मू छेँ आँगम घर स्थापना गरी खड्ग जात्रा चलाएको प्रसंग वंशावलीमा उल्लेख छ । नवदुर्गा गण र ठेचोबारेमा भने देवमाला वंशावलीमा लेखिएको छ, ‘नेपाली सम्वत् सालमा श्री राजाका पालामा श्री श्री नवदुर्गा जगाई ७०० घरको सहर बनाई प्रति वर्ष नवदुर्गाको नाच पाटनमा दसैंका टीकाको दिन ल्याई श्री मनमानेश्वरीको स्वेष्ट देवतालाई भैरव काली बाराही ३ जनाले फूलको माला लगाई पाटनको मूलचाकेमा नाच नचाउने समेत रीत चलाएको आजसम्म चलेकैछ ।’  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै