नेभिगेशन
जीवनयापन

बर्षमानको आरोप : एमाले पार्टी होइन कर्पोरेट हाउस हो, ओली सीइओ हुन्

काठमाडौं - सत्तारुढ नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले एमाले पार्टी नभई कर्पोरेट हाउस भएको बताएका छन् । एमाले राजनीतिक पार्टीको चरित्र गुमाएर कर्पोरेट हाउस जस्तो भएको र त्यसको सीईओ केपी ओली र अरु नेताहरु डाइरेक्टर र डेपुटी र डाइरेक्टरको भूमिकामा रहेको उनले बताएका छन् । ओली मुख्य नेतृत्वमा आएपछि एमालेलाई नीति, विचार, सिद्धान्त र कार्यक्रम विहीन कम्पनीमा रुपान्तरण गरेको उनको भनाइ थियो । अधिकांश एमालेजन पार्टी पार्टीजस्तो नभइ कर्पोरेट कम्पनी भएकोबारे जानकार भए पनि नाफाका लागि उनीहरु एमालेमै बसिरहेको उल्लेख गरे । पार्टीको बागमती प्रदेशअन्तर्गतका सबै जिल्लाका समन्वय समिति संयोजक र गाउँपालिका र नगरपालिका अध्यक्षको संगठनात्मक कार्यशालालाई बुधबार साँझ राजधानीमा सम्बोधन गर्दै पुनले भने, ‘एमाले पार्टी होइन, कर्पोरेट हाउस हो । ओली कर्पोरेट हाउसमा सीईओ र अरु नेताहरु डाइरेक्टर, डेपुटी डाइरेक्टर जस्ता छन् ।’ एमाले विचार र सिद्धान्तमा नभई नाफा र स्वार्थका लागि चलेको आरोप उनले लगाए । ‘एमालेमा मानिसहरु बसिरहेको विचार र राजनीतिले होइन । ठूलो कर्पोरेट हाउसमा बस्दा फाइदा धेरै हुन्छ । ब्राण्ड बिक्छ, कर्पोरेटमा तलब-सुविधा बढ्छ, बोनस पाइन्छ भनेर हो’, पुनले भने, ‘कर्पोरेट हाउसमा कामदारहरु नाफाका लागि मिहिनेत गर्छन्, ज्यान दिन पनि तयार हुन्छन् । एमालेका नेता कार्यकर्ता त्यस्तै भएका छन् ।’ उनले कर्पोरेट संस्कारमा हुर्किएका कारण एमाले कार्यकर्ताले केपी ओलीले दुई पटकसम्म संविधान मिचेर प्रतिनिधिसभा विघटन गर्दा र व्यवस्थामाथि नै प्रहार बोल्दा पनि बोल्न नसकेको टिप्पणी उनको थियो । माओवादी केन्द्र भने विचार, राजनीति र सिद्धान्त आधारित समाजवादी कार्यदिशा बोकेको पार्टी भएको दाबी पुनले गरे । उनले विचारलाई बोक्न सक्ने संगठन पनि आफूहरुसँग रहेको बताए । जनयुद्धका बेला पार्टीले सेना र संयुक्त मोर्चाको नेतृत्व गरेको भन्दै उनले आजको प्रतिस्पर्धात्मक राजनीतिमा समाजवादको आधार निर्माण गर्ने पार्टी चाहिएको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै