नेभिगेशन
जीवनयापन

बाँकेको नरैनापुरमा कोशेबाली खेती गर्न सुझाव

बाँके - बाँकेको नरैनापुर गाउँपालिकामा खडेरीका कारण रोपाइँ नभएपछि कृषि वैज्ञानिकसहितको टोलीले कोशेबालीको खेती गर्न किसानलाई सुझाव दिएको छ । गहुँखेती अगावै कोशेबाली सम्भव भएकाले धानखेती नभएको सो स्थानमा त्यस्तो बाली लगाउन सुझाव दिइएको हो । कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर ढकालका अनुसार सुक्खा क्षेत्रमा मासखेती गर्न किसानलाई सुझाव दिइएको छ । ‘उक्त बालीका लागि चिस्यान मात्रै भए पुग्छ’, उनले भने, ‘यसबाहेक कोशेबाली खेतीको रुपमा तेलहन बालीअर्थात् तोरी खेती र मकै उत्पादन गरेर त्यसलाई साइलेज बनाउन सकिन्छ ।’ किसानलाई यसबाहेक नगदे बालीको रुपमा बन्दा गोभी नामक तरकारी खेती समेत गर्न सुझाव दिइएको छ । ‘यसबाट किसानले थोरै भए पनि राहत पाउँछन्’, ढकालले भने । पानी नपरेपछि किसानले केही ठाँउमा रोपेको अधिकांश धानको बीउ मर्न लागेपछि नरैनापुर गाउँपालिकाले उक्त क्षेत्रलाई सुक्खा क्षेत्र घोषणा गरेको थियो । सो सुक्खा क्षेत्रमा वास्तविक अवस्थाबारे बुझ्न कृषि अनुसन्धान निर्देशनालय, खजुराका कृषि वैज्ञानिक रामदास चौधरी, कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख ढकाल, बागवानी अधिकृत रामप्रसाद यादव र किसान-२, परियोजनाका टुकनारायण अर्यालसहितको टोलीले स्थलगत अवलोकन गरेको थियो । बाँकेको उक्त दुर्गम गाउँपालिकामा अधिकांशको जीविकोपार्जन मुख्य आधार खेतीपाती मानिन्छ । नरैनापुरमा चार हजार दुई सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको थियो । यस वर्ष त्यहाँ १५ प्रतिशतमात्रै रोपाइँ भएको छ । रोपाइँ भएकोमध्ये आधाजसो धान पानी नपाएर मर्ने अवस्थामा पुगेको छ । पालिकामा दुई सय ६० हेक्टरमा सिँचाइ हुन्छ तर पानीको स्रोत समेत सुकेकाले समस्या भएको छ । रासस
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै