नेभिगेशन
जीवनयापन

बर्सेनि कान्द्राको बाढीले सास्ती

भजनी– कैलालीको भजनी नगरपालिका–५ की सरस्वती बोहराको नगरपालिकामा काम पर्‍यो । सेवा लिनका लागि कान्द्रा नदी डुङ्गा तरेर नगरपालिका आउनुपर्ने उहाँको बाध्यता छ । नदी तर्न प्रतिव्यक्ति रु २० तिर्नुपर्छ । “नगरपालिकाको सेवा लिन पैसा तिर्नुपर्छ”, बोहराले भने, “दैनिक आवतजावत गर्नुपर्छ, हरेक दिन पैसा तिरेर मात्रै भजनी बजार पुग्नुपर्ने बाध्यता छ ।” भजनी नगरपालिकाले आफ्नो क्षेत्रभित्रका नदीमा डुङ्गा सञ्चालनको ठेक्का दिएको छ । ठेक्का नगरपालिकाको मुख्य आम्दानीको आन्तरिक स्रोत हो । वार्षिकरूपमा सबैभन्दा बढी राजस्व सङ्कलन नदी ठेक्काबाट हुन्छ । नगरपालिकामा सेवा लिनका लागि वडा नं ५, ७ र ९ का स्थानीयले कान्द्रा नदी तरेरै आउनुपर्ने बाध्यता छ । केही ठाउँमा स्थानीय सरकारले झोलुङ्गे पुल निर्माण गरेका कारण आवतजावत सहज छ । हुलाकी राजमार्गसँग जोडिएको वडा नं ५ र ७ का अधिकांश नागरिक दैनिक डुङ्गाको भरमा भजनी बजार पुग्छन् । कान्द्रामा अहिलेसम्म तीन झोलुङ्गे पुल निर्माण भएका छन् । नगरपालिकाको वडा नं ७ का राजकुमार चौधरी स्थानीय नागरिकलाई आवतजावतका लागि स्थानीय सरकारले सहज वातावरण बनाउनुपर्ने बताउँछन्। उनीडुङ्गा नि:शुल्क चढ्न पाउनुपर्ने बताउँछन् । “सबैसँग पैसा हुँदैन” उनले थपे । वडा नं ५ कै पवन जैशी भजनी बजारस्थित महुन्याल बहुमुखी क्याम्पसमा अध्ययन गर्छन्। उनले दैनिक क्याम्पस जाँदा नदी वारपार गरेको रु २० डुङ्गा सञ्चालकलाई तिर्छन । “आम्दानीको स्रोत छैन । घरबाट पैसा माग्न सधैँ सकिदैन” उहाँले भन्नुभयो । पवनजस्तै सयौँ विद्यार्थी नदी तरेर क्याम्पस जाने गरेका छन् । बजार क्षेत्रमा महुन्याल माध्यमिक नमूना विद्यालय छ । वर्षात्को समयमा बाढीकै कारण विद्यार्थी विद्यालय जान सक्दैनन् । स्वास्थ्योपचारका लागि पनि नदीपारिका नागरिकले भजनी बजार नै आउनुपर्छ । सामान्य उपचारका लागि पनि बजार आउनुपर्ने बाध्यता रहेको स्थानीय कृष्ण चौधरी बताउँछन् । “रातिको समयमा बिरामीलाई झनै समस्या हुन्छ”, उनले भने । हुलाकी राजमार्गको थेकीपुरमा पक्की पुल निर्माण भएपछि समस्या समाधान हसने स्थानीयवासीको भनाइ छ । पुल निर्माणको काम ११ वर्षअघि सुरु भएको हो । अझै पूरा हुनसकेको छैन । रु चार करोड ४३ लाखमा साल्पारशेर्पा लामा बिरुवाले संयुक्तरूपमा सो पुल निर्माणको ठेक्का पाएको थियो । पुल निर्माणका लागि निर्माण कम्पनीले ३० महिनाको समय पाएको थियो । समयावधि पटक–पटक थप्ने गरिएको छ । हुलाकी राजमार्ग आयोजना धनगढीका इञ्जीनियर पदम मडै पुरानो तोडेर नयाँ ठेक्का गरी पुलको बाँकी काम सम्पन्न गरिने बताउँछन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै