तनहुँ-११ लाई भानु कप उपाधि

बिहीबार, मंसिर ८, २०७९

तनहुँ - २०९ औं भानु जयन्तीको अवसरमा आयोजित भानु कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि तनहुँ-११ ले जितेको छ । भन्सार युवा क्लबको आयोजनामा भानु नगरपालिका-१ मा सम्पन्न फाइनल खेलमा सिद्धगुफा युवा क्लबलाई पराजित गर्दै तनहुँ-११ ले १५औं भानु कपको उपाधि चुमेको हो ।

सिद्धगुफा युवा क्लबलाई २-० गोलअन्तरले पराजित गर्दै तनहुँ-११ ले उपाधिसँगै रु दुई लाख, ट्रफी र मेडल प्राप्त गर्‍यो । उपविजेता सिद्धगुफाले रु एक लाख, ट्रफी र मेडल पायो । फाइनल खेल हेर्न झण्डै पाँच हजार दर्शक आएका आयोजक क्लबका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा ३० समूह सहभागी थिए ।

फाइनल खेलको म्यान अफ दि म्याच सिद्धगुफाका सन्दीप थापा घोषित भए । प्रतियोगिताको सर्वाधिक गोलकर्ता तनहुँ-११ का दिपेश आले रहे । उनले प्रतियोगिताभर नौ गोल गरे । उत्कृष्ट गोलरक्षकको उपाधि तनहुँ-११ का प्रदीप भण्डारीले जिते भने अनुशासित क्लब मस्र्याङ्दी युवा क्लब गोरखा घोषित भयो । उत्कृष्ट खेलाडी तनहुँ-११ का रन्दीप पौडेल भए ।

प्रतियोगिताका विजेता टोली तथा खेलाडीहरुलाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतले पुरस्कार प्रदान गरे । भानु जयन्तीकै अवसरमा क्लबले बिहीबार आयोजना गरेको छेलो हान्ने प्रतियोगिताको उपाधि रामकुमार श्रेष्ठले जिते । उनले रु पाँच हजार पुरस्कार प्राप्त गरे ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १९:५६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार