मोरङमा वडाध्यक्षसहित ५६ जनप्रतिनिधिले दिए राजीनामा

बिहीबार, मंसिर १, २०७९
मोरङ - स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै विराटनगर महानगरपालिकाका जनप्रतिनिधिहरुले राजीनामा दिएका छन् । उनीहरुको राजीनामासँगै महानगरको ५ वटा वडा जनप्रतिनिधिविहीन भएको छ । ‘विराटनगरको ४, ५, १७, १८ र १९ नम्बर वडाका सबै जनप्रतिनिधिले राजीनामा दिएपछि पूरै खाली भएको छ,’ महानगरका प्रमुख प्रशासकीय अधिृकत उमेश बस्नेतले भने, ‘५ वटै वडाध्यक्ष र सदस्यसहितले राजीनामा दिए ।’ वडा जनप्रतिनिधिविहीन भएपछि कामकाज वडा सचिवमार्फत हुनेछ । बहालवालाले राजीनामा नदिएसम्म उम्मेद्ववारी दिन नपाउने भएपछि उनीहरुले राजीनामा दिन थालेका हुन् । ‘महानगरको १९ वटा वडामध्ये १३ जना वडाध्यक्ष र सदस्यहरुसहित ५६ जना जनप्रतिनिधिले राजीनामा दिएका छन्, प्रमुख प्रशासकीय अधिृकत बस्नेतले भने । विराटनगर-४ का देवेन्द्र पोखरेल, ५ का मीनकुमार आचार्य, ७ का मधुबाबु तिवारी, ९ का विश्वनाथप्रसाद भगत, १० का माधवराज वाग्ले, ११ का तिर्थेन्द्र न्यौपाने, १२ का हिरालाल कामत, १३ का झरिलाल महतो, १४ का बलदेव यादव, १५ का अस्लम आलम, १७ का समीर कमर, १८ का (कार्यवहाक अध्यक्ष) राजदेव यादव र १९ का बद्रीनारायण सरदार गरी १३ जना वडाध्यक्षले राजीनामा दिएका हुन् । ५ नम्बर वडाध्यक्ष मीनकुमार आचार्यको नाममा महानगरपालिकामा बेरुजु देखिएको र फस्र्यौट नभएका कारण राजीनामा बिहीबार सनाखत भएको थिएन । शुक्रबार बेरुजु फस्र्यौट भएपछि मात्रै राजीनामा सनाखत भएको प्रमुख प्रशासकीय अधिृकत बस्नेतले बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्