वीरगञ्जका विजय सरावगी र भरतपुरकी रेनु दाहालले दिए मेयर पदबाट राजीनामा

बिहीबार, मंसिर १, २०७९
काठमाडौं । आसन्न स्थानीय चुनावमा फेरि उम्मेदवार बन्न वीरगञ्ज र भरतपुरका मेयरले राजीनामा दिएका छन् । वीरगञ्जका मेयर विजय सरावगीले बिहीबार दिएको राजीनामा शुक्रबार स्वीकृत भएको हो । ‘मैले हिजै राजीनामा दिएको थिएँ, आज स्वीकृत भयो,’ सरावगीले सुनाए । उनी यसपालि नेकपा एमालेबाट वीरगञ्जको मेयर उठ्दै छन् । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पनि शुक्रबार राजीनामा दिएकी छन् । शुक्रबार महानगरका जनप्रतिनिधिहरुको पाँच वर्षे कार्यकालको समीक्षा पुस्तक विमोचन गर्दै उनले राजीनामा घोषणा गरेकी हुन् । उनले उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन् । ‘अबको एक कार्यकाल फेरि मेयरका रूपमा भरतपुरमा सेवा गर्न खोजेको छु । अहिलेसम्म गरेका कामलाई पूर्णता दिनका लागि पनि फेरि दोहोरिन पर्ने भयो,’ दाहालले भनिन् । पाँच दलीय गठबन्धनले भरतपुरको मेयरमा माओवादी केन्द्रका उम्मेदवार उठाउने सहमति गरेको थियो । माओवादी केन्द्रबाट दाहाल निर्विकल्प उम्मेदवार हुन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्