धनगढीको मेयरमा स्वतन्त्र, गठबन्धन र एमालेका उम्मेद्वारबीच त्रिपक्षीय टक्करको संकेत

बिहीबार, मंसिर १, २०७९

कैलाली । स्थानीय तहको निर्वाचन नजिकिएसँगै परिणाम कसको पक्षमा आउला भन्ने वहस समेत शुरु हुन थालेको छ । कैलालीको धनगढीमा स्वतन्त्र उम्मेदवार र पाँच दलीय गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुने बिश्लेषण हुन थालेको छ । गत २०७४ सालको स्थानीय तहमा उपबिजेता बनेका गोपाल हमालले यस पटक स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन । उनको उम्मेदवारी घोषणाले अब सत्ता गठबन्धन र हमाल तथा एमालेबीच कडा प्रतिस्पर्धा हुने आंकलन धेरैको छ ।

सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमध्ये एक्लो उपमहानगरपालिका हो भनगढी । धनगढी उपमहानगरपालिकामा २०७४ सालको स्थानिय तह निर्वाचन निकै रोचक बनेको थियो । कांग्रेसका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार गोपाल हमालले टक्कर दिएका थिए भने, तेश्रोमा माओवादी र चौथो नम्बरमा एमालेले पुग्नु परेको थियो । कांग्रेसबाट मेयरमा नृपबहादुर वड र उपमेयरमा सुशील मिश्र भट्ट बिजयी भएका थिए । १९ वटा वडामध्ये १२ काग्रेंस ५ माओवादी र २ वटा वडामा एमाले बिजयी भएको थियो ।

कांग्रेसका नृपबहादुर वडसँग २ हजार ७ सय मतले पराजित भएका स्वतन्त्र उम्मेदवार गोपाल हमाल यस पटक पनि स्वतन्त्र उम्मेदवारी घोषणा गरी चुनावी दौडधुपमा छन् । अहिले माओवादी र काग्रेंस एउटै टिममा गठबन्दन गरेर गएका छन् । नेपाली कांग्रेस कैलालीका सचिव नृप सुना ले बगतमा एक्लै जितेको बताउँदै अहिले माओवादीसहितको साथ हुँदा उपमहानगरको नेतृत्व लिन असहज नहुने दाबी गरे ।

उम्मेदवार रहेका गोपाल हमाल बिगतमा राम्रै मत पाएकाले यस पटक मत भार निकै बढ्ने बिश्वास गर्छन् । स्थानीय तहमा पार्टी, दलीय गठबन्धनले कुनै फरक नपार्ने दावी गर्दै यस पटक धनगढीका जनताले आफूलाई पत्याउने मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालको दाबी छ ।

नेकपा एमाले अहिले फुटेको छ । पार्टी फुटेर एकीकृत समाजवादी पनि अहिले सत्ता गठबन्धनमा छ । तर एमालेले समाजवादी फुटको कुनै प्रभाव नपर्ने दावी गरेको छ । एमालेले सत्ता गठबन्धनका जनबिरोधी काम जनताले थाहा पाइसकेकाले जनता अब एमालेका नीति कार्यक्रमलाई साथ दिने नेकपा एमाले कैलालीका उपाध्यक्ष दुर्गा जोशीले बताए । धनगढी उपमहानगरपालिकामा बिगतको तुलनामा निकै मतदाता बढेका छन् । यस पटक पनि धनगढीमा दल तथा स्वतन्त्र उम्मेदवारको रोचक प्रतिस्पर्धा हुने आँकलन गरिए पनि थपिएका मतदाता निर्णायक हुने देखिएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्