जनकपुर जसपालाई दिइएपछि कांग्रेस नेताहरु असन्तुष्ट, सामुहिक राजीनामाकाे तयारी

बिहीबार, मंसिर १, २०७९
जनकपुर - पाँच दलीय सत्ता गठबन्धनले गरेको भागबण्डामा मधेसको राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिका जसपाले पाएपछि नेपाली कांग्रेसका नेताहरु असन्तुष्ट बनेका छन् । सत्ता गठबन्धनको निणर्यमा आपत्ति जनाउँदै उनीहरुले आज (शुक्रबार) सामुहिक राजीनामा दिने तयारी गरेका छन् । कांग्रेस जनकपुरधामका नगर सभापति मनोज साहलगायतका असन्तुष्ट नेताहरुले पार्टीबाट सामुहिक राजीनामा दिन लागेका हुन् । उनीहरुले दिउँसो दुई बजे पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गर्दैछन् । नगर सभापति साह नेता विमलेन्द्र निधि समूहका हुन् । नेता निधिले समेत सत्ता गठबन्धनले जनकपुरधामका मेयर जसपालाई दिएको निणर्यमा असन्तुष्टि जनाइरहेका छन् । निधिकै सल्लाहमा सभापति साहलगायतका नेताहरुले राजीनामा दिन लागेको स्रोतले जानकारी दिएको छ । पार्टीबाट राजीनामा दिएर पत्रकार सम्मेलनमै साहले मेयरमा स्वतन्त्र रुपमा उठ्ने घोषणा पनि गर्ने उनी निकट एक नेताले जानकारी दिएका छन् । साह गत स्थानीय तहको निर्वाचनमा झण्डै १० हजार मतान्तरले पराजित भएका थिए । जनकपुरधामको मेयरमा निर्वाचित मेयर लालकिशोर साह अहिले जसपामा छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्