प्रचण्डको दावी : माओवादीलाई देशको नेतृत्व लिनबाट कसैले रोक्न सक्दैन

बिहीबार, मंसिर १, २०७९

कैलाली - सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीलाई देशको नेतृत्व लिनबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् । कैलालीमा आयोजित क्रान्तिकारी ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफू अहिले पनि रात दिन खटेर माओवादी ध्रुवीकरणका लागि हिंडेको दाबी गरे । ‘फेरि एक पटक माओवादीलाई यो देशको नेतृत्व लिनबाट कसैले रोक्न सक्ने छैन’ प्रचण्डले भने ।

प्रचण्डले देशको राजनीतिको केन्द्रविन्दुमा अहिले पनि माओवादी केन्द्र नै रहेको दाबी गरे । ‘देशको राजनीतिको केन्द्रविन्दुमा त अहिले पनि माओवादी नै छ’ प्रचण्डले भने, ‘जति नै गाली गरेपनि अहिले पनि केन्द्रमा त प्रचण्ड नै घुमिरहेको छ । प्रचण्ड व्यक्ति होइन, यो देशका सबै उत्पीडित समुदायको मुक्तिको झण्डा हो ।’ प्रचण्डलाई जनताले जन्माएको भन्दै उनले भने, ‘तपाईंहरु नै प्रचण्ड हो र तपाईंहरुले नै प्रचण्ड जन्माएको हो ।’ उनले माओवादी र माओवादी आन्दोलनका घाइतेहरूलाई अपमान गर्ने प्रयास भएको बताए ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्