स्थानीय तह निर्वाचन : दैलेखका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने चार दलको निर्णय

बिहीबार, मंसिर १, २०७९

दैलेख - स्थानीय तहको निर्वाचन आउन ३६ दिन बाँकी रहँदै गर्दा दैलेखमा निर्वाचन आयोगले तयारीको कामलाई तीव्रता दिएको छ । सरकारले ३० बैशाखमा स्थानीय तहको मिति तोकेसँगै दैलेखमा पनि राजनीतिक दलहरू चुनाव केन्द्रित भएका छन् । निर्वाचन नजिकिदै गर्दा दैलेखमा क्रियाशिल चार राजनीतिक दलले आसन्न स्थानीय तह चुनावमा गठबन्धन गर्ने निर्णय गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले दैलेखका ११ वटै स्थानीय तहमा गठबन्धन गरेर निर्वाचनमा जाने सहमति गरेका छन् । कांग्रेसका जिल्ला सभापति मणिराम रेग्मी, नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक प्रेमबहादुर कटुवाल क्षेत्री, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष बरुनाथ योगी र राष्ट्रिय जनमोर्चाका कार्यवाहाक अध्यक्ष लोगपाल थापाको संयुक्त बैठकले जिल्लाका ११ वटै स्थानीय तहका सबै ९० वटै वडामा गठबन्धन गर्ने निणर्य गरेको हो । चार दलबीच चुनावी तालमेल गरेर अगाडि बढ्ने निणर्य भएको नेकपा (माओवादी केन्द्र) का संयोजक प्रेमबहादुर कटुवाल क्षेत्रीले बताए ।

बैठकपछि चार दलले जारी गरेको संयुक्त अपिल अनुसार निर्वाचन केन्द्रीत सम्पूर्ण कामहरुलाई व्यवस्थित गर्न चार वटै दलका पार्टी प्रमुखसहित ७ जनाको गठबन्धन संयन्त्र गठन गरेको उल्लेख छ । चारवटै दलले जिल्ला तथा पालिका तहमा सत्ता गठबन्धनलाई व्यवस्थित गर्न गठबन्धनको मर्ममा चोट पुग्ने कुनै पनि गतिविधि सञ्चालन तथा अभिव्यक्त नगर्न निर्देशन समेत दिएको छ । चार वटै दलहरुले पालिका तहमा समेत तत्काल जिल्लाकै मोडलमा संयन्त्र बनाएर बैठक बस्न निर्देशन समेत दिएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार