विश्वकै सक्रिय ज्वालामुखी विस्फोट

मंगलबार, मंसिर १३, २०७९

काठमाडौँ–अमेरिकाको हवाईस्थित विश्वकै सबै भन्दा सक्रिय मानिने ज्वालामुखी पहाड ‘माउना लोआ’ बाट ज्वालामुखी विस्फोट हुने क्रम जारी रहेको छ ।


करिब ४० वर्षपछि पहिलो पटक सो ज्वालामुखी सक्रिय भएको र पहाडको टुप्पाको वरपर मात्र लाभा बगिरहेकाले फेदमा रहेका समुदायलाई खासै खतरा नरहेको जनाइएको छ । यद्यपी अमेरिकी भौगर्भिग विभागले भने परिस्थिति कुनै पनि बेला खतरनाक हुनसक्ने चेतावनी दिएको छ । हवाईको विग टापु र वरपरका जलीय क्षेत्र र त्यहाँका बासिन्दालाई लाभाको खरानी खस्ने बारेमा सतर्क गराइएको छ ।


त्यसैगरी ज्वालामुखीको सतर्कता स्तरलाई बढाएर ‘सल्लाह’ बाट ‘चेतावनी’ मा पुर्याइएको छ । यसअघि सन् १९८४ को मार्च र अप्रिलमा माउना लोआ विस्फोट हुँदा लाभा सहरको ५ माइल दूरीसम्म बगेको थियो । यो पछिल्लो विस्फोट आइतबार राति यस पहाडको टुप्पो काल्डेराको मोकुआविओविओमा भएको हो ।


ज्वालामुखी विस्फोट हुँदा वरपरका क्षेत्रमा दर्जनौं पटक २ दशमलव ५ रेक्टर स्केल भन्दा शक्तिशाली कम्पन भएको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  ०५:३२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार