आवश्यकता र औचित्यको अधारमा गठबन्धन हुन्छः मन्त्री कार्की

शुक्रबार, मंसिर ९, २०७९
इनरुवा—सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आवश्यकता र औचित्यको आधारमा स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने बताएका छन् । सुनसरीको सदरमुकाम इनरुवामा आज रासससँग कुराकानी गर्दै उनले आसन्न स्थानीय तहको निर्वाचनमा आवश्यकता र औचित्यका आधारमा मात्र गठबन्धन हुने बताएका हुन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले धेरै ठाउँमा मित्रतापूर्ण प्रतिस्पर्धा हुने उल्लेख गर्दै जुन ठाउँमा आवश्यकता र औचित्य हुन्छ‚ त्यस ठाउँमा मात्र गठबन्धन हुन्छ बताए । उनले भने‚ “विगतका कमीकमजोरीलाई सच्याउँदै साथीहरुसँगको सल्लाह सुझावका आधारमा आवश्यकता र औचित्यको आधारमा गठबन्धन हुन्छ ।” मन्त्री कार्कीले विकास विनाको राजनीतिले देश र समाजको रुपान्तरण हुन नसक्ने उल्लेख गर्दै अहिले मुलुकको आवश्यकता विकास निर्माण‚ सुशासन‚ कानुनी शासनको प्रत्याभूति हो‚ त्यसका लागि गठबन्धन निर्माण भएको बताए । उनले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण तरिकाले तोकिएकै मितिमा सम्पन्न हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरे । मन्त्री कार्कीले भने‚ “स्थानीय तहको निर्वाचन वैशाख ३० गते शान्तिपूर्ण‚ निष्पक्ष र धाँधलीरहित किसिमले उत्साहपूर्ण रुपमा सम्पन्न हुन्छ ।”
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:४७
प्रतिक्रिया दिनुहोस्