एमाले छाडेर नेकपा एस प्रवेशको लहर चलेको छ, पार्टी विस्तार देखेर बैरीहरु आत्तिन थाले : अध्यक्ष नेपाल

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले पार्टी परित्याग गर्ने लहर चलेको र नेकपा एसमा प्रवेश गर्नेको महाअभियान चलेको बताएका छन्।

शुक्रबार नेकपा एस काठमाडौँ जिल्ला समितिले आयोजना गरेको बृहत महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नेकपा एसमा प्रवेश गर्नेहरुको ओइरो लाग्न थालेको दाबी गरेका हुन् ।

पार्टी गठनको ६ महिनामा यति ठूलो आकार कुनै पनि पार्टीले लिन नसकेको अध्यक्ष नेपालले बताए । पार्टीले सही नीति र विचारलाई अवलम्बन गरेकाले पार्टी विस्तार हुँदै गएको उनको भनाइ छ ।

नेकपा एस विस्तार हुँदै गएको देखेर बैरीहरु आत्तिएको उनको टिप्पणी थियो ।

‘नेकपा एस विस्तार भएको देखेर बैरीहरु आत्तिएका छन् । आत्तिएर उनीहरुले आफ्नो मानसिक सन्तुलन गुमाउन थालेका छन् । जब मान्छेको मानसिक सन्तुलन गुम्छ, अनि उ बरबराउन थाल्छ ।’ उनले भने, ‘बरबराउने बेला के बोलेँ भन्ने होसै हुँदैन । यसबाट हामीले आत्तिनु पर्ने अवस्था छैन ।’

विरोधीहरुले अनेक खालका भ्रमहरु फैलाइरहेको अध्यक्ष नेपालको भनाइ छ । श्रममन्त्री कृष्णकुमार श्रेष्ठ एमालेमा प्रवेश गर्न लागेको भनेर कुप्रचार गरिएको बताए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:१८
प्रतिक्रिया दिनुहोस्