राष्ट्रहितविरीत काम गर्न थाले एमसीसी सम्झौता खारेज गर्छौं : नेकपा एस प्रवक्ता

शुक्रबार, मंसिर ९, २०७९
जनकपुर – नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले अमेरिकी सहयोग परियोजना एमसीसीले राष्ट्रहितविपरीत काम गर्न थाले सम्झौता खारेज गरिने बताएका छन् । जनकपुरधामस्थित नेकपा एसको जिल्ला कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रको हितकै लागि गठबन्धन कायम राख्न संसदबाट व्याख्यात्मक घोषणासहित एमसीसी पास गरेको बताए । राष्ट्रहितविरीत काम हुन थाले व्याख्यात्मक टिप्पणी पल्टाउने र एक महिनाको सूचना निकालेर एमसीसी सम्झौता खारेज गर्ने उनको भनाइ छ । ‘राष्ट्रहितविरीत काम हुन थाल्यो भने त्यो बेला व्याख्यात्मक टिप्पणी पल्टाउछौँ ।’ उनले भने, ‘त्यसपछि एक महिनाको सूचना निकालेर एमसीसी सम्झौता खारेज गछौँ ।’ अर्को प्रसंगमा प्रवक्ता खतिवडाले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गठबन्धनको पक्षमा भएकाले कांग्रेस गठबन्धनको विपक्षमा रहेको भन्न नमिल्ने बताए । कांग्रेसको केन्द्रीय समिति बैठकले यसबारे निर्णय लिएपछि प्रक्रिया अगाडि बढ्ने उल्लेख गरे । यदि कांग्रेस गठबन्धनको विपक्षमा उभिए जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल हुने बताए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:१९
प्रतिक्रिया दिनुहोस्