ओलीले एमसीसीमा सैन्य गठबन्धन मानेका थिए, हामीले व्याख्यात्मक घोषणाबाट सच्यायौं : माधव नेपाल

शुक्रबार, मंसिर ९, २०७९

गोरखा / सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली र शेरबहादुर देउवा मिलेर एमसीसी जस्ताको त्यस्तै पारित गर्न खोजेपछि आफूहरुले व्याख्यात्मक घोषणामार्फत देशको पक्षमा पारेको बताएका छन् ।

आज (शनिबार) गोरखामा आयोजित नेकपा एसको कार्यक्रममा अध्यक्ष नेपालले संसदको घोषणाले नेपालको गणतन्त्र र संविधान जारी भएको भन्दै व्याख्यात्मक घोषणा पनि त्यस्तै बाध्यकारी भएको बताए । अध्यक्ष नेपालले केपी ओलीको पालामा एमसीसीमा नेपाललाई इण्डो प्यासिफिक सैन्य गठबन्धनको अङ्ग बन्ने भनेर लेखिएकोमा आफूहरुले त्यसलाई सच्याएको दावी गरे ।

उनले भने, ‘ओली सरकारका परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली गएको बेला एमसीसीमा नेपाल सैन्य गठबन्धनको अङ्ग बन्ने लेखिएको थियो । हामीले हुन्न भन्यौं । हामी कुनै सैन्य गठबन्धनमा जान सक्दैनौं भनेपछि अमेरिकाले पनि एमसीसीबाट पत्र लेखेर त्यो स्वीकार गर्‍यो र व्याख्यात्मक घोषणासहित पारित भयो । कतिपयले व्याख्यात्मक टिप्पणीको अर्थ छैन भन्दैछन् तर संसदले नै गणतन्त्र घोषणा गरेको हो । संविधान जारी गरेको हो ।’

अध्यक्ष नेपालले संसदले पारित गरेको एमसीसी र व्याख्यात्मक घोषणाले मुलुकलाई जोगाएको दावी गरेका छन् । नेपालले आउने चुनावमा एमालेलाई धुलो चटाइने दावी समेत गरे ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:०६
प्रतिक्रिया दिनुहोस्