दोधारमा प्रचण्ड-नेपाल, गठबन्धन तोडेर भए पनि एमसीसी पास गर्लान् देउवाले ?

बुधबार, मंसिर ७, २०७९

काठमाडौं -  प्रतिनिधि सभाको बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल भएपछि अहिले प्रधानमन्त्री शेरबहादुर देउवा बहुमत जुटाउन कस्सिएका छन् । प्रधानमन्त्री देउवा गठबन्धन तोडेर भए पनि एमसीसी पास गर्ने पक्षमा रहेको स्रोतको भनाई छ । 

सरकारमा हुँदा धेरै शीर्ष नेताहरुले एमसीसी अगाडि बढाउन पहल र नेतृत्व गर्दै आएका थिए । अहिले ती दलहरु एमसीसी अगाडि बढाउन दबाबमा छन् । 

गठबन्ध दलहरु नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी संसदमा एमसीसीको पक्षमा मत नदिने अडान लिदै आइरहेका छन् । यस्तै जसपाभित्र पनि एमसीसीको पक्ष र विपक्षमा मत बाझिएको छ । 

जसपाले एमसीसी बारे आधिकारिक धारणा दिइसकेको छैन । उपेन्द्र यादव पक्ष चुप छ भने डा. बाबुराम भट्टराई पक्ष भने एमसीसीको पक्षमा रहेको प्रष्ट छ । गठबन्धनकै अर्को दल जनमोर्चाले भने एमसीसीको विरोध गर्दै आइरहेको छ । कांग्रेस र लोसपा भने एमसीसीको पक्षमा मतदान गर्न तयार छन् । 

नेकपा एमालेलाई भने प्रधानमन्त्री देउवाले फकाउँदैछन् । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले भने गठबन्धन टुट्नुपर्ने र संसदमा आफ्नो दल सहभागी हुने वातावरण मिलाउनुपर्ने कुरा देउवालाई राख्दै आइरहेका छन् । यो हेर्दा एमसीसी पास गराउन कांग्रेस सभापति समेत रहेका देउवा गठबन्धन तोड्न पछि नहट्ने देखिन्छ । 

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि एमसिसीमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने चेतावनी दिएका छन् । प्रेस युनियन तनहुँमा आयोजि कार्यक्रममा उनले सो कुरा गरेका हुन् । 

माओवादीका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाल भने देउवा एमालेतर्फ ढल्किरहदा ओली फेरि सत्तामा आउछन् की भन्ने डरले के निर्णय दिने भन्नेमा दोधारमा छन् । एमसीसी टेबल भएपछि प्रतिनिधि सभाको बैठकमा एमसीसीबारे छलफल हुँदैछ । 

प्रतिनिधि सभामा नेकपा एमालेका ९८ जना सांसद, कांग्रेसका ६१ जना सांसद , माओवादी केन्द्रका ४९ जना सांसद र नेकपा एकीकृत समाजवादीका २३ जना सांसद रहेका छन् । यस्तै  जसपाका १९ जनामा एक जना निलम्बित र लोसपाका १२ जना सांसद रहेका छन् । यो हेर्दा बहुमत बनाउन देउवाले एमालेलाई नै फकाउनुपर्ने देखिन्छ । 
  

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०८:३०
प्रतिक्रिया दिनुहोस्