एमसीसीसम्बन्धी पत्र सार्वजनिक भएपछि देउवालाई रिसाउदै फोन गरे प्रचण्डले

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोनमा कुराकानी भएको छ ।

आफूहरुले एमसीसीका अध्यक्षलाई लेखेको पत्र सार्वजनिक भएपछि प्रचण्डले कांग्रेसका सभापति समेत रहेका देउवालाई फोन गरेका हुन् । 

फोनमा प्रचण्डले देउवालाई अहिले आएर पत्र सार्वजनिक गर्नुको कारण के हो भनेर सोधेको स्रोतले बताएको छ । प्रचण्डले भने - 'तपाईं र मबीच तत्काल एमसीसी पारित नगर्ने सहमति भएको थियो । तर अहिले किन पत्र सार्वजनिक गर्नुभयो।'

यो प्रश्नपछि देउवाले आफूले उक्त पत्र सार्वजनिक नगरेको बताए । देउवा र प्रचण्डले एमसीसीका अध्यक्षलाई लेखेको पत्र सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनीहरूको अहिले आलोचना भइरहेको छ ।  

पत्रमा देउवा र प्रचण्डले अमेरिकाले एमसीसी कार्यक्रमअन्तर्गत नेपाललाई उपलब्ध गर्ने ५० करोड अमेरिकी डलर आउँदो १६ फागुनसम्म संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता जनाएका छन् । 

देउवा र प्रचण्डले उक्त पत्र एमसीसीको अध्यक्षलाई २९ सेप्टेम्बर २०२१ मा लेखेका थिए । पत्रमा देउवा र प्रचण्ड दुवैको हस्ताक्षर छ । देउवा र प्रचण्डले मर्यादा विपरीत एमसीसीलाई पत्र लेखेका कारण उनीहरुको व्यापक आलोचना भइरहेको हो । 

 

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २१:५५
प्रतिक्रिया दिनुहोस्