देउवाले पार्टीभित्र छलफल गर्न आवश्यक ठानेनन्, यो गम्भीर इस्यू हो - शेखर कोइराला

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले पार्टीभित्र छलफल गर्न आवश्यक नठानेको भन्दै आपत्ति जनाएका छन् । 

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा नेता कोइरालाले पार्टी भित्र कुनै छलफल नभएको बताए । सभापति देउवाले केन्द्रीय कार्यसमितिको बैठक पनि नबोलाएको भन्दै उनले देश, जनता र लोकतन्त्रका निम्ति यो गम्भीर इस्यू भएको बताए । 

उनले कांग्रेसकै केही नेताहरु र गठवन्धन दलहरुका नेताहरुले नै पार्टी अध्यक्षलाई ट्रयापमा पार्न खोजेको बताए । उनले भने - 'कांग्रेसकै केही नेताहरु र गठबन्धनका नेताहरुले शेरबहादुरजीलाई ट्रयापमा पार्न खोज्दै हुनुहुन्छ । जालोमा फसेपछि गाह्रो हुन्छ नि।'

स्थानीय तहको निर्वाचन बारे बोल्दै नेता कोइरालाले निर्वाचनबाट राजनीतिक दलहरु डराउनु हास्यास्पद भएको बताए । उनले दलहरु नै निर्वाचनबाट डराउनु लोकतन्त्रको दुर्भाग्य भएको भन्दै कसले जित्छ वा कसले हार्छ भन्दा पनि लोकतन्त्रले जित्छ कि जित्दैन प्रमुख कुरा भएको बताए । 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:४८
प्रतिक्रिया दिनुहोस्