मोदीको अभिव्यक्तिप्रति विप्लव समूहको आपत्ति - नेपाल सरकार किन मौन  ?

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका भूभागबाट आफ्ना सैनिक फिर्ता लैजानुको सट्टा चीनको मानसरोवर जोड्न बलजफ्ती बनाइएको बाटो विस्तार गर्न लागेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । 

सोमबार एक विज्ञप्ति जारी गर्दै नेकपाको अन्तर्राष्ट्रिय विभागले मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो । भारतीय प्रधानमन्त्री मोदीको उक्त घोषणाप्रति नेपाल सरकार मौन बस्नु देश र जनताका लागि शर्मनाकको विषय बनेको पनि विज्ञप्तिमा जनाइएको छ । 
 
यस्तो छ जारी विज्ञप्ति :

भारत सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका भूभाग लिम्पियाधुरा, कालापानी, लिपुलेकबाट आफ्ना सैनिक फिर्ता लैजानुको सट्टा चीनको मानसरोवर जोड्न बलजफ्ती बनाइएको बाटो चौडा र विस्तार गर्ने घोषणाले हाम्रो पार्टीको ध्यानाकर्षण गरेको छ । नेपाली कांग्रे्रेसको नेतृत्वमा बनेको नेपाल सरकार भारतीय रवैयाप्रति चुप लागेर बस्नु, नेपालका लागि भारतको दलाली गर्नु, उसको साम्राज्यववादी नीतिप्रति दब्बुपना देखाउनु देश र जनताका लागि शर्मनाक विषय हो ।

हाम्रो पार्टी भारत सरकारलाई यो साम्राज्यवादी हर्कत तुरुन्त बन्द गर्न जोडदार अपिल गर्दछ र नेपाल सरकारलाई तुरुन्त कूटनीतिक पहलबाट त्यस क्षेत्रको सार्वभौमिकताको सुरक्षा सुनिश्चित गर्न जोडदार माग गर्दछ । साथै लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रका जनताको जनगणना गर्नबाट भारतले रोकावट गर्नु नेपालको सार्वभौमिकतामाथिको हस्तक्षेप हो । कूटनीतिक पहलबाट यी मुद्दाहरु सल्ट्याउन पनि हाम्रो पार्टी नेपाल सरकारसँग जोडदार माग गर्दछ।

कञ्चन
इन्चार्ज
मिति : २६ पुस, २०७८ (१० जनवरी, २०२२)

b.png

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:२३
प्रतिक्रिया दिनुहोस्