ठुला दलहरू मिलेर देशको सम्पत्ति स्वाहा पारे, आमाको कसम खाएर राजनीतिमा लागेको हुँ - लिङ्देन

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशका लागि नि:स्वार्थ काम गर्ने इच्छा भएका व्यक्तिलाई पार्टीमा आउन आग्रह गरेका छन् । बिहिबार राप्रपा नेपालले धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय भेलामा बोल्दै लिङ्देनले सो कुरा गरेका हुन् । 

देश बनाउने र देशलाई बरबाद पार्ने शक्तिबीच नेपालमा ध्रुवीकरण भइरहेको भन्दै लिङ्देनले देशका लागि नि:स्वार्थ काम गर्ने इच्छा भएका व्यक्तिलाई राप्रपामा आउन र गलत स्वार्थ भएका व्यक्तिलाई अन्य पार्टीमा लाग्न आग्रह गरे । 

उनले भ्रष्टाचार गर्ने र देशलाई अस्थिरतातर्फ धकेल्ने जस्ता गलत मनसाय राखेर राप्रपामा नलाग्न पनि भने । ‘ठुला दलहरू मिलेर देशको सम्पत्ति स्वाहा पार्दै छन्,’ उनले भने -  ‘राप्रपा देश बनाउने अभियानका साथ हिँडेको छ, कसैलाई भ्रष्टाचार गर्ने मन भए कांग्रेस, एमाले, माओवादीमा लागे हुन्छ ।’ 

देश निर्माण गर्नका लागि आफूहरू आमाको कसम खाएर राजनीतिमा लागेको पनि उनले बताए । ८० प्रतिशत नेपाली अहिले पनि हिन्दु राष्ट्र हुनुपर्छ भन्दै आवाज उठाउने गरेको स्मरण गर्दै उनले अव हिन्दु भावना भएका सबैलाई समेटेर अघि बढ्ने बताए । ‘८० प्रतिशत नागरिकले हिन्दु धर्मलाई मान्दै आएका छन्,’ उनले भने - ‘त्यसैले नेपाल हिन्दु राष्ट्र नै हो, कसैको इसारामा आएको धर्म निरपेक्ष जनताले मानेका छैनन् ।’
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:३२
प्रतिक्रिया दिनुहोस्