'कोईराला परिवार एक गराउन मैले सकिन, देउवाले जित्नु स्वभाविक थियो'

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेसनमा शेरबहादुर देउवासंग सभापतिमा हार बेहोरेका डा.शेखर कोईरालाले आफू देउवासंग भन्दा पनि आफ्नो परिवारसंग हारेको स्वीकारेका छन् ।

डा.शेखर कोईरालाले आफू शेरबहादुर देउवासंग हार्नु स्वभाविक भएको जिकिर गरेका छन् । एक टेलिभिजन अन्तर्वार्तामा डा. कोईरालाले आफूले महाधिवेसनमा बेहोरेको हारलाई कसरी लिनुभएको छ भन्ने प्रश्नमा भने, "मैले सोचे अनुरुप नै भोट पाएको हो । मैले यो महाधिवेसनमा आफ्नो कोईराला परिवारलाई एक गर्न नसक्दा हार बेहोर्नु परेको हो । मेरो भाई बहिनीलाई नै मैले आफ्नो साथमा लिएर हिड्न नसक्दा मैले हार मान्नुपर्यो । म देउवासंग होईन म मेरो परिवारसंग हारेको छु ।"

डा. शशांक कोईरालाले आफ्नो समर्थनमा खुलेर नबोलेको र सुजाता कोईरालाले प्रकाशमान सिंह तर्फ गएकोले गर्दा कोईराला परिवार एक भएन जसका कारण प्रकाशमानदेखि विमलेन्द्र निधिले आफूलाई साथ दिन नसकेको कुरा डा. शेखर कोईरालाले उल्लेख गरेका छन् । आफ्नो भाई बहिनीलाई नै मैले कन्भिन्स गराउन सकिन भने प्रकाशमानहरुलाई कसरी गराउन सक्थें भन्ने तर्क प्रस्तुत गरेका छन् ।

"मेरो बुवा र बिपी कोईराला क्यान्सर रोगी हुनुहुन्थ्यो । बिपीले मेरो बुवालाई लेखेको एउटा चिठी थियो जुन चिठी मेरो भाई बहिनीले पढेर बुझेको भए आज म सभापति हुने थिए र कोईराला लिगेसीले कांग्रेसलाई अघि लाने थियो । तर मेरो भाई बहिनीले त्यो पत्र बुझ्न सकेनन् ।" डा कोईरालाले भने ।

डा. कोईरालाले सभापति शेरबहादुर देउवाले कांग्रेसमा अर्को गुट बनाउन प्रोत्साहन गरिरहेको आरोप समेत लाएका छन् । देउवाले मनपरि केन्द्रीय सदस्य बनाउन थालेर अर्को गुटलाई प्रोत्साहन गरेको उल्लेख गरेका छन् ।

डा कोईरालाले भने, "शेरबहादुर देउवाले फेरि पार्टीको विधान अनुरुप काम नगरे हामी चूप रहदैनौ । वहाँको मत बढी होला तर वहाँलाई टक्कर दिन हामी तयार छौं । शेरबहादुर देउवाजीले पहिला जस्तो पार्टी चलाउन खोजेमा यो पल्ट त्यसरी चल्दैन । कांग्रेसमा गुट प्रोत्साहन गरेमा दुर्घटना हुनसक्छ ।"

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:२९
प्रतिक्रिया दिनुहोस्