माओवादीमा प्रचण्डले जे चाहे त्यही पूरा

बुधबार, मंसिर ७, २०७९

काठमाडौं | नेकपा माओवादी केन्द्रको यसपटकको राष्ट्रिय महाधिवेशनमा पनि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले जे चाहेका थिए, त्यही पूरा भएको छ । प्रचण्ड फेरि एकपटक अध्यक्षमा निर्वाचित भइसकेका छन् । 

झण्डै ३३ वर्षदेखि माओवादीको नेतृत्व गर्दै आएका प्रचण्डले अब पनि आगामी ५ वर्षको लागि पार्टीमा आफ्नै राज जमाउँदैछन् । आठौं महाधिवेशन उनले सजिलै सफलताका साथ सम्पन्न गरे । नेतृत्व चयनमा उनकै मात्र हात रह्यो । केन्द्रीय सदस्यहरुको नाम पनि सुटुक्क गोजीबाट निकालेर पढेर सुनाए । 

२९९ मध्ये २३६ जना केन्द्रीय सदस्यहरुको नाम सुनाएपछि बन्दसत्रबाट पारित पनि भयो । प्रचण्डले समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ जना गरी २३६ जनाको नाम घोषणा गरेका थिए । अब पदाधिकारी चयन पनि प्रचण्डले सोचेजस्तै हुँदैछ । महाधिवेशनमा उनले कुनै गुट निर्माण हुन पनि दिएनन् । 

त्यतिमात्र होइन आफ्नो पार्टीमा कुनै गुटबन्दी छैन भन्ने सन्देश बाहिर पनि दिए । सबैले अध्यक्षले जे भन्छ त्यही ठिक हुने कुरामा गए । पार्टीमा गुटबन्दी नहुँदा प्रचण्ड सर्वसम्मत चयन त हुने नै भए । उनले देश र जनताको आवश्यकता अनुसार आफू पुन: पार्टी अध्यक्षमा निर्वाचित भएको बताएका छन् । 

उनले अब प्रचण्ड नहुँदैमा माओवादी नसकिने भए पनि देशलाई आफ्नो आवश्यकता रहेकाले पुन: सक्रिय राजनीतिमा आउन चाहेको धारणा राखे । अब माओवादीमा १४ पदाधिकारी चयन हुन बाकीँ रहेको छ । आगामी पुस २५ मा बस्ने केन्द्रीय समिति बैठकले पदाधिकारी र बाँकी रहेका केन्द्रीय सदस्य चयन गर्ने बताइएको छ ।  

पदाधिकारीमा अहिले विभिन्न नेताहरुको नाम चर्चामा छ तर चयन प्रचण्डले नै गर्नेछन् । माओवादीमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ७ जना उपाध्यक्ष, एक जना महासचिव, २ जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने प्रावधान रहेको छ । 

प्रचण्डले आफ्नो निकै नजिक रहेका नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष दिने बताइएको छ । वरिष्ठ उपाध्यक्षमा कसैको दाबी नपरेकोले नै नारायणकाजी नै वरिष्ठ उपाध्यक्ष हुने दाबी छ । यस्तै उपाध्यक्षमा पनि जर्नादन शर्मा, पम्फा भुसाल, मातृका यादव, वर्षमान पुन लगायतका नेताहरु चयन हुने चर्चा छ । 

यस्तै महासचिवमा कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा र पम्फा भुसालले पनि दाबी गरिरहेको बताइएको छ । यी मध्ये एक जनालाई महासचिवमा प्रचण्डले छान्ने बुझिएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०८:५७
प्रतिक्रिया दिनुहोस्