वर्षमान पुन चिनबाट फर्किएपछि मात्रै माओवादीले पदाधिकारी घोषणा गर्ने

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - नेकपा माओवादी केन्द्रले अहिले तुरुन्तै पदाधिकारी घोषणा नगर्ने भएको छ । अब वर्षमान पुन चीनबाट फर्केपछि मात्र पदाधिकारी घोषणा गर्ने तयारी गरिएको एक नेताले बताए ।

माओवादी केन्द्रीय सदस्य बोधमाया यादवले मंगलबार पुन चीनबाट फर्किने र त्यसपछि मात्रै पार्टीले पदाधिकारीको घोषणा गर्ने बताएकी हुन् ।

अब अर्को केन्द्रीय समिति बैठक पुस २५ गते बस्ने भएको छ। आगामी पुस २५ मा बस्ने बैठकले पदाधिकारी र बाँकी रहेका केन्द्रीय सदस्य चयन गर्ने बताइएको छ ।  

यसअघि माओवादीले २३६ जना केन्द्रीय सदस्य चयन गरिसकेको छ । आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले २९९ मध्ये २३६ जना केन्द्रीय सदस्यहरुको नाम सुनाएपछि बन्दसत्रबाट पारित गरिएको थियो ।  

प्रचण्डले समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ जना गरी २३६ जनाको नाम घोषणा गरेका थिए । अब माओवादीले १५ पदाधिकारी चयन गर्न बाकीँ रहेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०९:३०
प्रतिक्रिया दिनुहोस्