नेभिगेशन
राजनीति

रुपन्देही–३ उपनिर्वाचनः राप्रपाका कारण सहज हुनेछैन रास्वपालाई, कांग्रेस–एमालेले के गर्लान्?

उपनिर्वाचनको सान्दर्भिकतालाई हेर्ने हो भने इलाम–२ मा रास्वपाले जमानत जोगाउन सकेको थिएन। त्यसबाहेक स्थानीय तहको उप निर्वाचनमा पनि काठमाडौं–१६ मा मात्र लट्री लागेको थियो। त्यो पदचापका आधारमा रुपन्देही–३ मा त निक्कै मिहेनत गर्न आवश्यक देखिन्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा तर्फको रुपन्देही–३ मा सागर ढकाललाई उम्मेदवार बनाउने चर्चा चुलिएको छ।

यो अनुमानचाहिँ ढकाल रास्वपाका सांसद गणेश पराजुलीलगायतका नेतासँगको भेट र निरन्तर सम्पर्कमा रहेको तथा उनको स्ट्याटसका कारण गरिएको हो।

गत निर्वाचनमा डडेल्धुरामा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरी १३ हजार मत ल्याएका ढकालको चर्चा ब्यापक चलिरहेको छ। 

यद्यपि ढकालले आफू उक्त निर्वाचन क्षेत्रमा चुनावमा भाग लिने या नलिने भन्ने विषयमा खुलेका छैनन्। तर, नयाँ र रास्वपाको लविङमा भने लागेका छन्।

जे भए पनि रास्वपाका जोसुकै उम्मेदवारलाई उक्त निर्वाचन क्षेत्रमा कति सहज र कति कठिन हुन सक्छ भन्ने प्रक्षेपण गत निर्वाचनको मतको हिसाबकिताबका आधारमा गर्न सकिन्छ।

कांग्रेस र नेकपा एमालेले स्वभाविक रुपमा उम्मेदवारी दिनेछन्। एमालेका लागि खिमलाल भट्टराई लगभग निश्चित उम्मेदवार भए पनि कांग्रेसको टुङ्गो लागेको छैन। 

कांग्रेसबाट पूर्वगृहमन्त्री बालकृष्ण खाँण नै मैदानमा उत्रिन सक्ने पनि अनुमान गरिन्छ। 

एकै छिन कांग्रेस–एमालेलाई किनारामा राखेर हिसाबकिताब गर्न मिल्दैन। यसकारण रास्वपाका निम्ति कठिन मोड छ। 

गत निर्वाचनमा एमालेको सहयोगमा राप्रपाका दीपक बोहोरा निर्वाचित भएका थिए। बोहोराको निधनपछि उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। 

गत निर्वाचनमा बोहोराले उक्त क्षेत्रमा ३६ हजार ७ सय १७ अर्थात् ४१.६२ प्रतिशत मत ल्याएका थिए। यस्तै खाँणले २४ हजार ३६ मत ल्याए जुन ३८.५८ प्रतिशत हुन्छ। 

उपनिर्वाचनको सान्दर्भिकतालाई हेर्ने हो भने इलाम–२ मा रास्वपाले जमानत जोगाउन सकेको थिएन। त्यसबाहेक स्थानीय तहको उप निर्वाचनमा पनि काठमाडौं–१६ मा मात्र लट्री लागेको थियो। त्यो पदचापका आधारमा रुपन्देही–३ मा त निक्कै मिहेनत गर्न आवश्यक देखिन्छ।

रास्वपाका लागि अर्को चुनौती भनेको राप्रपा हुनेछ। पछिल्लो समय राजावादी आन्दोलनलाई बलियो बनाएको राप्रपा र दिवंगत नेता दीपक बोहोराको लिगेसीले पनि काम गर्ने लख काट्न सकिन्छ। किनकी, उनका परिवारका सदस्य (छोराहरु मध्य एक)लाई राप्रपाले उम्मेदवार बनाएको खण्डमा रास्वपालाई गाह्रो पर्न सक्छ।

मिश्रित जनाधार रहेका कारण जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच सहकार्य हुने अवस्था छ। गत निर्वाचनमा उन्मुक्तिका तुलसीप्रसाद थारुले ५.३९ प्रतिशत मत ल्याएका थिए। त्यो मतको संख्या ४ हजार ७ सय ५१ थियो। जनमतका प्रमादकुमार राउतले ३.७६ प्रतिशत अर्थात् ३ हजार ३ सय १७ मत ल्याएका थिए। 

यी दुवै दलको पनि रास्वपाको जस्तै अलग प्रभाव रहेका कारण पनि रास्वपा उम्मेदवारलाई कठिन हुनेछ। 

रास्वपाका जितबहादुर गुप्ताले गत निर्वाचनमा उक्त क्षेत्रमा तेस्रो बन्दा ६.५७ प्रतिशत अर्थात् ५ हजार ७ सय ९६ मत ल्याएका थिए। यद्यपि उसको दाबी ११ हजारको थियो। 

मानौ, कांग्रेस, एमाले र राप्रपाबाहेक सबै नयाँ दल र स्वतन्त्र उम्मेदवारको समेत गत निर्वाचनको मत जोड्दा लगभग २० प्रतिशत पनि हुन आउँदैन। जीतका लागि कम्तिमा पनि ४१ प्रतिशत मत कटाउनुपर्ने त सिधा नै देखियो। 

रास्वपा, उन्मुक्ति, जनमत, हाम्रो नेपाली पार्टी र स्वतन्त्रलाई गत निर्वाचनमा गएको मत जोड्दा पनि १७ हजार ४ सय ५९ हुन आउँछ। जुन, १९.८ प्रतिशत हुन्छ। 

तर सबै वैकल्पिक शक्ति एक हुने अवस्था नरहेका कारण कांग्रेस र एमालेको आधा–आधा मत उल्ट्याउन सक्दा मात्रै र अन्य साना दलको समेत सहयोग रहँदा रास्वपा हावी हुने सम्भावना रहन्छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति