नेभिगेशन
राजनीति

शंकर पोखरेलको सपना धुलीसात पार्ने भण्डारीको एमालेमा ‘एक्टिभ रि–इन्ट्री’

काठमाडौं– एउटा लोकप्रिय सन्देश दिनेगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सक्रिय राजनीतिमा ‘रि–इन्ट्री’ गरेकी छन्। 

संयोग अथवा सुनियोजित हिसाबले एमालेका पूर्वमहासचिव मदन भण्डारीको जन्मदिनको अवसर पारेर अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई साक्षी राखी भण्डारीले सक्रिय राजनीतिमा आएको घोषणा गरिन्। 

यद्यपि, ओली स्पेन जानुपर्ने भएकाले भण्डारीको भाषण, गेश्चर र भावलाई प्रत्यक्ष देख्न पाएनन्। तर, त्यसअघि नै भनेका थिए,‘तपाईले के बोल्नुहुन्छ भन्ने थाहा छ, राम्रो बोल्नुहुन्छ।’

भण्डारीको सक्रिय राजनीतिमा आउने निधोका पछाडि ओलीको दरिलो साथ रहेको छैन भन्ने आम बुझाई रहे पनि यो सल्लाहका आधारमा नै गरिएको निर्णय भन्ने लख काट्न कठिन छैन। 

‘तँ कुटे जस्तो गर, म रोए जस्तो गर्छु’ शैलीमा भण्डारीको सक्रियतामा ओलीको नेपथ्यमा साथ रहेको लख काट्न असहज छैन किनभने सक्रिय राजनीतिको केही दिनअघि डेढ घन्टा प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा ‘ओली–भण्डारी वार्ता’ भएको थियो।

भण्डारीको सक्रियताले कोही भयभित र त्रसित छ भने त्यो महासचिव शंकर पोखरेल हुन्। उनी एमाले अध्यक्ष बन्ने दौडमा सबैलाई छिचोलेर महासचिव बन्न सफल भए। प्रतिनिधि सभाको निर्वाचनमा पराजित व्यक्तिको प्रभावकारी महासचिव बन्न सक्ने हिम्मत नेतृत्वको टाकुरामा पुग्नु नै रहेको हो।

‘अहिले भण्डारीको सबैभन्दा ठूलो आलोचक शंकर पोखरेल हुन्’, उच्च स्रोतले भन्यो। 

यसको प्रमाणका लागि धेरै पर पुग्न पर्दैन। सचिवालय बैठकमा पोखरेलले ‘पूर्व राष्ट्रप्रमुख भैसकेका मानिसलाई सक्रिय राजनीतिमा आउन नहुने’ प्रस्ताव पारित गर्नका लागि राखेका थिए। तर, त्यसलाई ओलीले ठाडो अस्वीकार गरिदिएका थिए।

भण्डारीको राजनीतिमा पुनर्दोयको सबैभन्दा भयानक भय पोखरेललाई परेको छ। आगामी महाधिवेशनबाट नेतृत्वमा उक्लिने पोखरेलको सपना भत्किएको मात्र छैन ‘धुलोपिठो’ भैसकेको छ।

भण्डारी र पोखरेलको राजनीतिक पृष्ठभूमी संगठनात्मक हिसाबले उस्तै भए पनि केही न केही फरक छन्। भण्डारी महासचिव मदन भण्डारीकी पत्नी हुन् भने काठमाडौं–१ मा ०५१ सालमा बाहलवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई निर्वाचनमा पराजित गर्ने महिला पनि हुन्। 

तर त्यसअघि नै उनले एमालेको विद्यार्थी राजनीतिमा सक्रिय भूमिका र योगदान गरिसकेकी थिइन्। 

उनी २०३० दशक  को आसपास भित्र विद्यार्थी राजनीतिमा जोडिएको बताइन्छ। भोजपुर जिल्लामा उनी अनेरास्ववियुको पूर्वी क्षेत्रीय समिति ‘इञ्चार्ज’ थिइन्।

उनले पार्टी सदस्यता त्यहि बेला लिइन्। यसपछि भण्डारी एमालेको युथ लिगमा पनि सक्रिय भइन्।

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा छात्रसंघ कोषाध्यक्षको रूपमा निर्वाचित भइन्। 

पोखरेल पनि विद्यार्थी राजनीतिबाट नै मूलधारमा आएका थिए।

भण्डारी अनेम संघको अध्यक्ष, पार्टीको उपाध्यक्ष, दुई पटक मन्त्री र दुई पटक राष्ट्रपति भैसकेकी छन्। उनले पार्टीको अप्ठ्यारो अवस्थामा पनि ओलीलाई सघाएकी थिइन्। 

यसरी, उनी विद्यार्थी राजनीति अनि पार्टी संगठन मार्फत राजनीतिमा प्रवेश गरिन् र आफ्नो नेतृत्व क्षमता आफूले जन्मेको नेकपा (एमाले) पार्टी र राष्ट्रिय तहमा पुष्टि गरिन्।

‘उहाँको राजनीतिक योगदानका आधारमा सक्रिय हुँदा राम्रो हुन्छ, एमालेमा रहेको उकुस मुकुस पनि अन्यत्र जान पाउँदैन’, एक जना स्थायी कमिटी सदस्य भन्छन्,‘पार्टी बलियो बनाउन पनि दुई पोलको आवश्यक छ। एकातिर ओलीजी हुनुहुन्छ, भण्डारी हुनुभयो भने झनै राम्रो हुन्छ।’

विधान सम्मेलन आगामी भदौमा तय भैसकेको छ। सो सम्मेलनका क्रममा भण्डारी पक्षधर नेताहरुले यसअघि कायम गरिएको दुई कार्यकाल नेतृत्व गरिने र ७० बर्षको उमेरहदको सीमालाई निरन्तरता दिनका लागि दबाब दिनेछन्। 

जसका कारण भण्डारीलाई नेतृत्वमा पुग्न सहज हुनेछ। एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भनेका छन्,‘विधान सम्मेलनमा यसअघि गरिएका निर्णय कुनै पनि हालतमा कार्यान्वयनमा जान्छन्। इफ बट केही हुन्न।’

एमालेमा दोस्रो पोलका रुपमा भण्डारीको उदयले अब वैचारिक मन्थन पनि गहिरोगरी हुने आँकलन स्वभाविक छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति