नेभिगेशन
समाज विविध

तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतबिहीन काठमाडौं महानगर

संघीय सरकारको दादागिरीका कारण महानगरभित्रका विकासका काममा अवरोध, ठेकेदारले भुक्तानी पाउन मुस्किल, कर्मचारीले तलब समेत पाएनन्

काठमाडौं– संघीय सरकारको दादागिरीका कारण काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत नपाउँदा विकासका कामदेखि कर्मचारीको तलबसम्म तीन महिनादेखि प्रभावित बनेको छ।

विभिन्न पक्षलाई भुक्तानीका लागि प्रमुख प्रशासकीय अधिकृतको खाँचो हुनाले महानगरले पत्र लेखेर पटक–पटक प्रथम श्रेणीका कर्मचारी पठाइदिन भनेको छ। 

तर, महानगर प्रमुख बालेन शाहसँग बदलाभावले हिँडेको संघीय सरकार हाँक्ने नेताको अड्डीका कारण विकासका काममा भएका भुक्तानी दिन सकिएको छैन भने महानगरका कर्मचारीले तलब पाउन सकेका छैनन्। 

महानगरको आन्तरिक काम प्रभावित बनाएर संघीय सरकारका उपप्रधानमन्त्री प्रकाशमान सिंह वडा भवन उद्घाटन गर्दै हिँडेका छन् भने सांसद गगन थापा पनि सोही शैलीमा शिल्यान्यासमा व्यस्त छन्। 

महानगरसँग समन्वय गर्ने संघीय सरकारको निकाय भनेको सहरी विकास मन्त्रालय हो। सह–सचिव प्रमुख प्रशासकीय अधिकृत हुने भएकाले महानगरका निम्ति त्यस्तो प्रस्ताव मन्त्रिपरिषदमा लैजाने काम सहरी विकास मन्त्रालयको हो। सिंह उपप्रधानसहित सहरी विकास मन्त्री हुन्। 

महानगरका मेयर बालेनका सल्लाहकार सुनिल लम्सालले काम कारबाही ठप्प हुने स्थिति आएपछि व्यङ्ग्यात्मक शैलीमा भनेका छन्,‘हाम्रो विकासप्रेमी राजनेताले काठमाडौँ महानगरपालिकामा तिव्र विकास होस् भनेर प्रमुख प्रशासकीय अधिकृत नपठाएको तेस्रो महिना लागेछ।’

लम्सालले अगाडि भनेका छन्,‘काठमाडौं महानगरपालिकाका कर्मचारी र सेवा प्रदायकहरु, जसले ३ महिना तलब र  कुनै पनि भुक्तानी बिना आफ्नो पूर्ण क्षमतामा आफ्नो जिम्मेवारी पूरा गर्नु भएको छ, उहाँहरूमा नमन् छ। धन्यवाद, राजनेताज्यूलाई पनि। हामीले नसिकेको तिब्र विकासको अवधारणा सिकाइदिनु भएकोमा। तर यो किसिमको विकासमा तपाईहरूको पेटेन्ट नै छ, हामी उपयोग गर्दैनौँ। हाम्रो देश विकासको यो उचाइमा पुग्नुको रहस्य बुझदैछौं।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

दुई दिनसम्म पानी पर्ने सम्भावना