Nic Ad Nic Ad
Nic Ad Nic Ad

गृहमन्त्रीले संसद्‍मा बोल्न पाउनुपर्छ, त्यसपछि समिति बनाउन तयार छौँ : उपसभापति अर्याल

बिहीबार, जेठ ३, २०८१

काठमाडौं– सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले प्रतिनिधि सभामा बोल्न पाउनुपर्ने माग दोहोर्‍याएका छन् ।

सहकारी ठगी प्रकरणको आरोप सामना गरिरहेका उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई संसद्‍मा बोल्न दिन कांग्रेस लचिलए भएको अवस्थामा श्रममन्त्रीसमेत रहेका अर्यालले यस्तो बताएका हुन् ।

अर्यालले बिहीबार अपरान्ह ४ बजे बस्ने संसद् बैठकमा गृहमन्त्री लामिछानेले बोल्न पाउनुपर्ने माग गरे ।

‘आरोप लागिसकेपछि पहिला हाम्रो एक पटक कुरा सुनियोस् । त्यसपछि समिति बनाउनुपरे बनाउँला । त्यसपछि हामी नै समितिको माग गर्न सक्छौँ कि !’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूलाई गृहमन्त्रीलाई एक पटक संसद्‍मा बोल्न दिएर समिति बनाउने प्रस्ताव गरेका छन् ।

बिहीबार पनि उनले दोहोर्‍याएको यो प्रस्तावमा कांग्रेस लचिलो देखिएको छ । यसबारे कांग्रेसले संसदीय दलमा अनौपचारिक छलफल गरिरहेको सचेतक सुशीला थिङले बताएकी छन् ।

सभापति देउवा पनि प्रधानमन्त्रीको प्रस्तावमा लचिलो देखिएकाले बिहीबार अपरान्हदेखि संसद्‍ खुल्ने सम्भावना देखिएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्