दिल्लीका मुख्यमन्त्री केजरीवाल रिहा

शुक्रबार, वैशाख २८, २०८१

काठमाडौँ- भ्रष्टाचार आरोपमा पक्राउ परेका नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

उनलाई आगामी जुन महिनाको १ तारिखसम्म जमानतमा रिहा गर्न सर्वोच्चले आदेश दिएको हो । साथै उनलाई जुन २ तारिखमा फेरि अदालतमै हाजिर हुन भनिएको छ ।

मदिरा सम्बन्धी नीतिगत निर्णयमा अनियमितता गरेको आरोपमा आम आदमी पार्टी (आप)का नेता केजरीवाल ४० दिनदेखि तिहाड जेलमा बन्द छन् । उनी आज साँझसम्म जेल मुक्त हुने भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

भारतमा जारी लोक सभाको चुनाव अगाडि केजरीवाल पक्राउ परेका थिए । सात चरणमा भइरहेको लोक सभाको चुनाव आगामी जुन एक तारिखमा सकिन्छ । त्यही चुनावको प्रचारमा सहभागी हुन उनलाई अदालतले अनुमति दिएको हो । जेलमुक्त भए पनि उनलाई कार्यालयमा गएर काम गर्न भने अनुमति दिइएको छैन ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १६:२२
प्रतिक्रिया दिनुहोस्