रसुवागढी जलविद्युत आयोजनाको विद्युत् उत्पादन अनिश्चित

बिहीबार, वैशाख २७, २०८१

काठमाडाैं  -रसुवामा निर्माणाधिन रसुवागढी जलविद्युत आयोजनाको विद्युत उत्पादन अनिश्चित बनेको छ । १११ मेगावाट क्षमताको आयोजनाले निर्माण सम्पन्न गरे पनि विद्युत् उत्पादन भने अनिश्चित बनेको हो ।

नेपाल विद्युत् प्राधिकरणले चिलिमे हब सबस्टेशन (२२० केभी) र चिलिमेदेखि त्रिशूली–३‘बी’ हबसम्मको २२० केभी प्रसारण लाइनको निर्माण अहिले सम्म पूरा नगर्दा आयोजनाले विद्युत् उत्पादन गर्न नपाएको हो ।

प्रसारण लाइन अभावकै कारण विद्युत् उत्पादन हुन नसक्दा आयोजनालाई अर्बौं रुपैयाँ आर्थिक नोक्सानी पर्ने देखिएको छ । विद्युत् उत्पादन गर्न तयारी अवस्थामा रहे पनि प्रसारण लाइनको अनिश्चितताले विद्युत् उत्पादन गर्न नसकिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत छवि गैरेले बताए ।

आयोजनाले उत्पादनस्थल देखि चिलिमे हबसम्मको १० किलोमिटर प्रसारण लाइनको निमार्ण काम पूरा गरिसकेको छ । प्रसारण लाइन नबन्दा मासिक करिब २७ करोड रुपैयाँ आर्थिक क्षति हुने अनुमान गरिएको छ । त्यसमाथि ठेकेदारले दाबी भुक्तानी थप्दै गयो भने झनै ठूलो समस्या उत्पन्न हुनेछ ।

प्राधिकरणले गत चैतभित्रै प्रसारण लाइन पूरा गर्ने दाबी गरे पनि भौगोलिक जटिलताका कारण काम सक्ने समय लम्बिँदै गएको हो । आयोजनाले गत माघदेखि जलाशय र सुरुङमा पानी भरेर राखे पनि उपयोगमा आउन सकेको छैन भने आयोजनाले विद्युत गृहको ट्रान्सफर्मर लगायत उपकरण चार्ज गर्न समेत नपाएको बताएको छ ।

१ सय ११ मेगावाट क्षमताको यो आयोजनाको २०७० माघदेखि निर्माण कार्य सुरु भएको हो।आयोजनाबाट वार्षिक ६१३.८७ मेगावाट विद्युत् उत्पादन हुन्छ। आयोजनाले उत्पादन गर्न थालेपछि दैनिक सवा करोड आम्दानी हुनेछ। २०१७ अगस्टमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोे आयोजना भूकम्प र नाकाबन्दीका कारण समयमा नै निर्माण सम्पन्न गर्न नसकिएको हो।

भूकम्पपछिको समयमा साइडको विभिन्न स्थानमा पहिरो झरेपछि चिनियाँ ठेकेदारले चारमहिना काम रोकेका थिए। निर्माणाधीन आयोजनाको कूल लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ रहेको छ।

आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३ प्रतिशत, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताको १९ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १८ प्रतिशत, सर्वसाधारणको १५, रसुवाबासीको १०, संस्थापक सेयरधनी संस्थाका कर्मचारीको ३.५ र ऋणदाता संस्थाका कर्मचारीको एक प्रतिशत लगानी रहेको छ। 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १९:०३
प्रतिक्रिया दिनुहोस्