कोशी सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता

बिहीबार, वैशाख २७, २०८१

काठमाडौँ- कोशीमा नयाँ सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस नेता केदार कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।

उनले रिटमा सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान बदर गर्न अन्तरिम आदेश र मुख्यमन्त्रीमा आफूलाई निरन्तरता दिन माग गरेका छन् । सर्वोच्च प्रशासनले बिहीबार दिउँसो दर्ता गरेको जानकारी दिएको छ ।

कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङ बुधबार राति नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । एमाले र माओवादी गठबन्धनको तर्फबाट एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेश गर्नुका साथै आज उनलाई मुख्यमन्त्रीमा समेत नियुक्त गरिसकिएको छ ।

केन्द्रमा नयाँ गठबन्धन बनेपछि एमाले र माओवादीले कार्की नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएका थिए ।

त्यसपछि अल्पमतमा परेका कार्कीले ३० दिनभित्र विश्वासको मत पनि नलिएको र राजीनामा पनि नदिएकाले उक्त सरकार कामचलाउ भएको एमाले र माओवादी गठबन्धनको दाबी थियो । प्रदेश प्रमुख खापुङले सोही आधारमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्