आइपिएल : दुई खेल अगावै बाहिरियो मुम्बई इन्डियन्स

बिहीबार, वैशाख २७, २०८१

काठमाडौँ- अलराउन्डर हार्दिक पाण्ड्याको कप्तानीमा रहेको पाँच पटक च्याम्पियन बनेको मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ मा दुई खेल अगावै उपाधि दौडबाट बाहिरिएको छ ।

बुधबार राति सनराइजर्स हैदराबादले लखनऊ सुपर जायन्ट्सलाई १० विकेटले हराएसँगै मुम्बई आधिकारिक रूपमा प्लेअफ दौडबाट बाहिरिने यस सिजनको पहिलो टोली बनेको छ । मुम्बई १२ खेलमा ४ मा जित र ७ मा हारसहित ८ अंकका साथ नवौँ स्थानमा छ । मुम्बईले अब शनिबार कोलकाता र अर्को शुक्रबार लखनउसँग खेल्नेछ । दुवै खेलमा विजयी हुँदा मुम्बई १२ अंकमा पुग्न मात्रै सक्छ । कम्तीमा चार टोली १४ अंकभन्दा माथि हुने पक्का हुँदा मुम्बई बाहिरिएको हो ।

कोलकाता ११ खेलमा ८ मा जित र ३ मा हारसहित १६ अंकका साथ नेट रन रेटमा माथि रहँदै शीर्ष स्थानमा छ । राजस्थान रोयल्स ११ खेलमा ८ मा जित र ३ मा हारसहित १६ अंकका साथ दोस्रो स्थानमा छ । कोलकाता र राजस्थानको प्लेअफ सम्भावना औपचारिकता बाँकी छ ।

हैदराबाद १२ खेलमा ७ मा जित र ५ मा हारसहित १४ अंकका साथ तेस्रो स्थानमा छ । चेन्नई ११ खेलमा ६ मा जित र ५ मा हारसहित १२ अंकका साथ चौथो स्थानमा छ ।

समान १२ खेलमा दिल्ली १२ अंकका साथ पाँचौँ स्थानमा छ । लखनऊ पनि १२ खेलमा १२ अंकका साथ नै छैटौँ स्थानमा छ । दिल्ली र लखनऊ खेल्न बाँकी हुँदा एक टोली १४ अंकका पुग्ने पक्का भएको हो ।

मुम्बईले यस सिजनदेखि हार्दिकलाई कप्तानमा नियुक्त गरेको थियो । २०१३ देखि कप्तानी गर्दै पाँच ट्रफी मुम्बईलाई जिताउने रोहित शर्मालाई हटाउँदै हार्दिकलाई कप्तानी जिम्मेवारी दिएको थियो । त्यसैको कारण यस सिजनभर हार्दिकको आइपिएलमा चर्को आलोचना भएको थियो । हार्दिकले २०१५ देखि २०२१ सम्म मुम्बईबाट खेलेका थिए ।

त्यसपछि हार्दिकले २०२२ मा गुजरात टाइटन्सको कप्तानी गर्दै उपाधि जितेका थिए । २०२३ मो भने हार्दिकको कप्तानीमा गुजरात फाइनलमा चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १५:०५
प्रतिक्रिया दिनुहोस्