कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

बिहीबार, वैशाख २७, २०८१

काठमाडौं- कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।

एमाले संसदीय दलका नेता कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेश गरिएको थियो । सोही दाबीका आधारमा कार्की आज मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेपछि एमाले, माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गरेका थिए ।

प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई ५२ जना सांसदको हस्ताक्षर सनाखत भएसँगै मुख्यमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेका हुन् ।

उनी यसअघि दुई पटक मुख्यमन्त्री भइसकेका छन् । २४ पुस २०७९ पहिलो पटक माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले केन्द्रमा सत्ता समीकरण फेरिएपछि १४ असार २०८० मा राजीनामा दिए । पछि ०८० भदौं २१ गतेदेखि असोज २० गतेसम्म दोस्रो पटक उनी मुख्यमन्त्री बनेका थिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १४:००
प्रतिक्रिया दिनुहोस्