बालमन्दिर जग्गा हिनामिना प्रकरण : २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

बिहीबार, वैशाख २७, २०८१

काठमाडौं- बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

करिब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी वैद्यसहित २० जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो । 

आन्तरिक र पुराना प्रतिवेदनमा बालमन्दिरको जग्गा हिनामिना भएको देखिएपछि अनुसन्धानका लागि भन्दै बिहीबार नेपाल बाल संगठनले सीआईबीमा जाहेरी दिएपछि आरोपितविरुद्ध ठगीको कसुरमा अनुसन्धान सुरु भएको छ । 

२०४९ देखि साढे २ दशकसम्म बाल संगठनको अध्यक्ष रहँदा वैद्य र उनको कार्यसमितिका पदाधिकारी एवं कर्मचारीको मिलेमतोमा बाल मन्दिरको जग्गा हिनामिना गरिएको देखिएको थियो ।

पछिल्लो पटक २०७२ सालमा सव लिज सम्झौता गरी वैद्यले बृहस्पतिसँग पहिले भएको लिज अवधि १६ वर्ष बाँकी छँदै थप ४३ वर्षका लागि बाल मन्दिरको जग्गा सुम्पिएको आरोप लागेको छ ।

बृहस्पतिलाई जग्गा लिजमा दिएबापत संगठनले वार्षिक ९० लाख रुपैयाँ भाडा पाउने गरी सम्झौता भएको थियो । त्यसपछि बृहस्पतिले लिजमा जग्गा लिएपछि ५ रोपनीमा भारतीय बोर्डबाट सञ्चालित ‘राय स्कुल’ लाई सव लिज दिएर वार्षिक ६० लाख असुल्दै आएको छ । 

वैद्य गणेशमान सिंहकी छोरी र हालका कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी पनि हुन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १३:१०
प्रतिक्रिया दिनुहोस्