चितवनमा बाघ र गैँडा मृत फेला

मंगलबार, वैशाख २५, २०८१

चितवन- चितवन राष्ट्रिय निकुञ्जमा आज बाघ र गैँडा मृत फेला परेका छन् । निकुञ्जको भित्र भिमपुर क्षेत्रमा बाघ तथा नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा गैँडा मृत अवस्थामा भेटिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नेपाली सेनाको सुरक्षा पोष्ट अमृतेबाट खटिएको टोलीले मृत बाघ फेला पारेको हो । अहिले घटनास्थलमा सेना र निकुञ्जको टोली पुगेको छ । घटनास्थल सौराहा नजिक पर्दछ । बाघको मृत्युको कारण खुल्न सकेको छैन ।

यस्तै नवलपरासीको कावासोती नगरपालिका–१५ स्थित गुन्द्रइढाका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा एक भाले गैँडा मृत फेला परेको छ । गैँडा प्राकृतिक कारणले मरेको निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिए । गैँडाको खाग र खुर सुरक्षित छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १३:२५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार