भारतले नहरमा पानी बन्द गरेपछि गण्डक जलविद्युत केन्द्रको विद्युत उत्पादन ठप्प

मंगलबार, वैशाख २५, २०८१

नवलपरासी - भारतीय पक्षले नहर विद्युत केन्द्रको नहर मर्मत भइरहेको भन्दै नहरमा पानी बन्द गरेपछि पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा बन्द रहेको छ ।


प्रतापपुर गाउँपालिका–७ गुठी सूर्यपुरास्थित जलविद्युत् केन्द्रको उत्पदान करिब दुई महिनादेखि बन्द रहेको जलविद्युत् केन्द्रका प्रमुख पीताम्बर भुसालले बताएका छन् । जलविद्युत् केन्द्रको नहर बन्द ‘क्यानल सटडाउन’ भएपछि विद्युत् उत्पादन रोकिएको उनले बताए। गत चैत १३ गते नहरमा पानी आउन बन्द भएपछि उत्पादन बन्द गरिएको उनले बताए ।


नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको केन्द्र ३१ अगस्ट १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो। करिब ४३ वर्ष पुरानो गण्डक जलविद्युत्मा नहरमा पानी छोड्ने र बन्द गर्ने भारतीय पक्षको हातमा हुन्छ । जसअनुसार भारतको उत्तर प्रदेश गोरखपुरस्थित गोरखपुर सिँचाइ विभागले उक्त विद्युत् केन्द्रको नहर मर्मत भइरहेको भन्दै नहरमा पानी बन्द गरेको हो ।

त्यसैले विद्युत् उत्पादन बन्द रहेको प्रमुख भुसालले बताए। तर यस विषयमा आधिकारिक कुनै पत्र प्राप्त नभएको र नेपालमा मर्मत पनि नभएको उनको भनाइ छ । हरेक वर्ष भारतीय पक्षले कात्तिक–मङ्सिर र चैत–वैशाख गरी दुईपटक नहरको पानी बन्द गर्ने गर्छ ।

१५ मेगावाट विद्युत् उत्पदान क्षमता भएको उक्त जलविद्युत् केन्द्रले हाल ५ देखि साढे ५ मेगावाटसम्म विद्युत् उत्पादन गरिरहेको छ । तर विद्युत् उत्पादन पूर्णरुपमा बन्द भएपछि दैनिक औसतमा सातदेखि ८ लाखसम्म घाटा रहेको जलविद्युत् केन्द्रका प्रमुख भुसालले बताए ।

तीनवटा टर्वाइन भएको जलविद्युत् केन्द्रमा दुई टर्वाइनले मात्र विद्युत् उत्पादन गरिरहेका छन् । एउटा टर्वाइन भने बिग्रेर थन्किएको छ । गण्डक जलविद्युत् केन्द्रमा रहेका उपकरणलाई परिर्वतन गरी सुधार गर्नुपर्ने आवश्यकता देखिएको पनि भुसालले बताए ।


 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १०:४८
प्रतिक्रिया दिनुहोस्