गण्डकीमा मन्त्रिमण्डल विस्तार, एमालेका २ मन्त्री थप

सोमबार, वैशाख २४, २०८१

काठमाडौँ- मुख्यमन्त्री खगराज अधिकारीले आज मन्त्रिमण्डल विस्तार गरेका छन् । विश्वासको मत लिएको भोलिपल्टै उनले मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

मुख्यमन्त्री अधिकारीले एमालेबाट दुई मन्त्री थप गरेका हुन् । अधिकारीले यसअघि आफू पहिलो पटक मुख्यमन्त्री बन्दा मन्त्री बनेका दुवैजनालाई दोहोर्‍याएका छन् । कास्कीका वेदबहादुर गुरुङ र स्याङ्जाकी सीता सुन्दास मन्त्री नियुक्त भएका हुन् ।

गुरुङले ऊर्जा र सुन्दासले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । गुरुङ यसअघि कृषि र सुन्दास अर्थमन्त्री थिइन् ।

सभामुख कृष्णप्रसाद धितालले ३० मत पाएका मुख्यमन्त्री अधिकारीलाई बहुमत पाएको घोषणा गरेका थिए । यसअघि नेकपा माओवादी केन्द्रबाट हरिबहादुर चुमान अर्थमन्त्री र राजीव गुरुङ (दीपक मनाङे) भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री नियुक्त भएका थिए ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १७:१५
प्रतिक्रिया दिनुहोस्