जेठको दोस्रो साताबाट दार्चुलामा यार्सा सङ्कलन गर्न पाइने

सोमबार, वैशाख २४, २०८१

 काठमाडाैं -जिल्लाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलन दार्चुलामा जेठ दोस्रो साताबाट गर्न पाइने अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ । आइतबार एक सूचना जारी गर्दै कार्यालयले जेठ महिनाको दोस्रो साताबाट यार्सागुम्बा सङ्कलन अनुमति खुला गर्ने जनाएको हो ।

वैशाख १६ गतेदेखि यार्सा सङ्कलन इजाजत पत्र अपीनाम्पा संरक्षण क्षेत्रको मुख्य कार्यालय खलंगा, राप्ला सेक्टर सुन्सेरा, खण्डेश्वरी सेक्टर खण्डेश्वरी, बिटुले रेञ्जपोष्ट, ब्याँस रेञ्जपोष्ट, सिप्टी पोष्ट, पारिबगर पोष्ट, दुम्लिङ पोष्ट र हिकिला पोस्टबाट वितरण हुने कार्यालयका सूचना अधिकारी इन्द्र नगारीले जानकारी दिए ।

यार्सागुम्बा संकलनका लागि तीन रंगको अनुमति पत्र जारी गरिनेछ । संरक्षण क्षेत्र भित्रका संकलकहरुका लागि हरियो रंगको अनुमति पत्र जारी गरिने र प्रति व्यक्ति ५ सय रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको उनले बताए । यस्तै संरक्षण क्षेत्र बाहिरका तर, जिल्लाभित्रकै संकलकहरुका लागि पँहेलो रंगको अनुमति पत्र तथा २ हजार शुल्क र जिल्ला बाहिरका संकलकहरुका लागि रातो रंगको अनुमति पत्र जारी गरिने र ३ हजार शुल्क निर्धारण गरिएको सूचना अधिकारी नगारीले बताए ।

यार्सागुम्बा सङ्कलन गर्ने अवधि जेठ महिनाको दोस्रो साताबाट असार मसान्तसम्म हुने संरक्षण क्षेत्र कार्यालयले जनाएको छ । यस्तै सङ्कलन अनुमति पत्र नलिई यार्सागुम्बा सङ्कलन गरेको भेट्टिएमा वा ओसारपसार गरेको पाइएमा कानून बमोजिम कारवाही हुने बताइएको छ । मुख्यगरी दार्चुलाको ब्याँस गाउँपालिका र अपिहिमाल गाउँपालिकाका हिमाली क्षेत्रमा बहुमूल्य जडीबुटी यार्सागुम्बा पाइने गरेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ११:२१
प्रतिक्रिया दिनुहोस्