सप्तरीका अग्निपीडितलाई खानेपानी र शौचालयको व्यवस्था गरिने

आइतबार, वैशाख २३, २०८१

राजविराज– सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टी बस्तीमा अग्निपीडितका लागि खानेपानी र शौचालय निर्माण गरिने भएको छ ।

स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकाय (युनिसेफ) को सहयोगमा गैरसरकारी संस्था सबल नेपाल र छाया नेपालले खानेपानी तथा सरसफाइका लागि शौचालय निर्माण गर्ने निर्णय गरेको हो । गत वैशाख १८ गते आगलागी भएपछि सो बस्तीमा खानेपानी र शौचालयको समस्या छ ।

गाउँपालिकाका अध्यक्ष तथा स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष सुनील मण्डलले खानेपानी तथा सरसफाइको क्षेत्रमा सहयोग गरिदिन युनिसेफसहितका विकास साझेदार संस्थालाई अनुरोध गरिएको र ती संस्थाले समितिको प्रस्ताव स्वीकार गरिसकेको बताए ।

यस्तै, बैठकले बस्ती पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि प्रदेश तथा सङ्घीय सरकारसँग आवश्यक समन्वय र सहकार्य गर्ने, आवास निर्माणका लागि आवश्यक सामग्री उपलब्ध गराउन विभिन्न विकास साझेदार संघसंस्थालाई अनुरोध गर्ने र हालसम्म राहत वितरणलगायतका काममा सहयोग गर्ने सङ्घसंस्थालाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको अध्यक्ष मण्डलले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १४:१८
प्रतिक्रिया दिनुहोस्